मेरो रोमान्टिक छविलाई ‘दान्भी’ले चेन्ज गर्ने विश्वास छ : कुन्साङ

समाचार

काठमाडौं । ४० बढी म्युजिक भिडियोमा अभिनय र व्यवसायिक विज्ञापनमा मोडलिङ गरेर उदाएका कुन्साङ बोमजम ‘दान्भी’मार्फत फिल्म अभिनयमा डेब्यु गर्दैछन् ।

असार ७ गतेबाट रिलिज तयारीमा रहेको फिल्मबाट उनी आशावादी छन् । ‘सारांश’ नामक पात्रमा देखिएका उनी दर्शकले आफूलाई रुचाउनेमा ढुक्क छन् ।

‘दान्भीमा मेरो चाखलाग्दो चरित्र छ । मेरो चरित्र गम्भीरदेखि अलिक फरक मोडबाट बाँचेको किसिमको छ । फिल्ममा अलिक गम्भीर र देशलाई माया गर्ने किसिमको मान्छे छु’ कुन्साङ भन्छन् ।

सेन्ट जेभियर्स कलेजबाट उत्तिर्ण उनी स्कुलदेखि नै नाटकका कलाकार र कराँते खेलाडी पनि रहेछन् । ‘मार्सल आर्टलाई निरन्तरता दिइरहेको भए ‘दान्भी’मा एक्सन गर्न सजिलो हुन्थ्यो । ग्याप भएपछि यही फिल्मका लागि मैले ६ महिना एक्सन प्राक्टिस गरें’, कुन्साङ भन्छन् ।

भिन्न टाइपको एक्सन थाहा पाउन ‘दान्भी’ हेर्नुपर्ने दाबी उनको छ । ‘नेपाली फिल्म क्षेत्रमा एक्सन फिल्म नआएको धेरै भएको थियो । त्यसमाथि महिलालाई लिडमा लिएर एक्सन भएको त धेरै कमी नै छ । पहिला रेखा थापाले ठूलो छाप छोड्नुु भएको थियो, त्यसपछि कोही अभिनेत्री एक्सनमा देखिनुभएको थिएन । पुजाजीले निकै मेहनतका साथ एक्सन गर्नुभएको छ । फिल्ममा एक्सन कथावस्तु अनुसार गएको छ’, उनी भन्छन् ।

म्युजिक भिडियोको रोमान्टिक छविलाई ‘दान्भी’ले परिवर्तन गर्नेमा उनी ढुक्क छन् । ‘दर्शकले गीत, ट्रेलरमा मेरो लुक्स देखिसक्नुभएको छ । अझ म्युजिक भिडियोमा मेरा फ्यानले मेरो काम देखिसक्नुभएको छ । अब यो फिल्म हेरिसकेपछि मेरो अभिनय क्षमता कस्तो रहेछ भनेर थाहा पाउनुहुनेछ’ कुन्साङ भन्छन् ।

सेन्ट जेभियर्स पढ्दा उनले कक्षा ६ देखि १२ सम्म विभिन्न कथावस्तुका नाटकमा प्रमुख भूमिकामा अभिनय गरे । विदेशबाट आएका कलाकारले पनि उनीहरुलाई नाटक सिकाउँथे । त्यहीकारण उनले अभिनय सिक्नुपर्ने अवस्था खासै आएन । नेपाली र अंग्रेजी नाटकको अभिनयले उनलाई ‘हिरो’ हुन्छु भन्ने नभए पनि फिल्ममा चाहिँ अभिनय गर्छु भन्ने उसबेलै लागेको रहेछ ।

रुपेश तामाङ निर्देशित फिल्म ‘दान्भी’मा पुजा शर्मा, कुन्साङ बोमजम, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु रानालगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *