सातोपुत्लो लैजाने फलामे ढोका

समाचार

। मनमा बेग्लै कम्पन थियो । केही डर, केही तनाव, केही बेचैनी । अनि केही उत्साह पनि । किनभने हामी त्यसबेला परीक्षाको अन्तिम बिन्दुमा थियौं । परीक्षा पनि एलएलसी । त्यसबेला एलएलसी परीक्षा भन्नासाथ विद्यार्थीको आङ काम्थ्यो । किनभने यो परीक्षालाई यति धेरै महत्व दिइएको थियो कि त्यो पार गर्नैपर्ने बाध्यात्मक मनोविज्ञानमा जेलिएका हुन्थे विद्यार्थी । हामी त्यस्तै मनोदशामा थियौं ।

त्यसबेला एसएलसीलाई फलामे गेटको संज्ञा दिइन्थ्यो । यदि यो परीक्षा उत्तीर्ण भइएन भने विद्यार्थीको एक वर्ष खेरो मात्र जाँदैनथ्यो उच्च शिक्षाको प्रयासमा पनि ठूलो धक्का लाग्थ्यो । एसएलसीको परीक्षाफललाई जीवनको सफलता वा असफलतासँग जाँच्ने समाज थियो । त्यसैले विद्यार्थीहरु एउटै दबाबमा हुन्थे, कसरी एसएलसी पास गर्ने

एसएलसीको हाउगुजीले कतिसम्म सताएको थियो भने यो परीक्षाको बेला देशभर एक किसिमको फरक माहौल बन्थ्यो । परीक्षालयमा प्रहरी खटाइन्थे । प्रहरी देख्दा पनि विद्यार्थीको सातो जान्थ्यो । त्यस्तै परीक्षाको नतिजा आउने बेला पनि एक किसिमको उत्साह र अत्यास हुन्थ्यो । परीक्षाफल गोरखापत्रमा प्रकाशित हुन्थ्यो, जुन प्राप्त गर्नै महाभारत हुने । परीक्षामा उत्तीर्ण हुनेहरुले संसार जितेजस्तो गर्थे भने अनुत्तीर्ण हुनेहरुलाई गम्भीर आघात पुग्थ्यो । कतिपयले त आत्महत्या नै गर्थे ।

डा. बालकृष्ण साह
परीक्षालाई अनावश्यक रुपमा ‘भयंकर’ बनाउँदा धेरै विद्यार्थीले अकालमा ज्यान गुमाएका थिए । अहिले समय फेरिएको छ । एसएलसी एसईईमा बदलिएको छ । प्रणाली परिवर्तन भएको छ । तर परीक्षाको पुरानो अवशेष भने कहींकतै बाँकी छ ।

यद्यपि एसएलसी परीक्षा हाम्रो जीवनकालको एउटा अविस्मरणीय क्षण भने आवश्य थियो । किनभने सो परीक्षासम्म आइपुग्नका लागि गर्नुपर्ने तयारी र विद्यालय जीवनबाट पाइने छुट्काराले हामी सो परीक्षामा एकोहोरिएका हुन्थ्यौं । परीक्षाको तयारी, परीक्षा दिएको क्षण, परीक्षा सकाएपछिको आनन्द र परीक्षाफलको प्रतीक्षा हाम्रो जीवनकालकै निकै उतारचढावपूर्ण क्षण हुन्थ्यो । त्यसैले एसएलसी परीक्षाका दिनहरु स्मृतिमा सुरक्षित हुँदोरहेछ ।

म निजी विद्यालयको विद्यार्थी, अझ हामी पहिलो ब्याच थियौं । एसएलसीको परिणामले विद्यार्थीहरुको शैक्षिक जीवन मात्रै होइन, विद्यालयको भविष्य पनि निर्धारण गर्ने मान्यता राखिन्थ्यो । पहिले विद्यालयले लिएको पूर्वपरीक्षा अनि त्यसपछि जिल्लाले लिने परीक्षा उत्तीर्ण गरेपछि बल्ल एसएलसीमा सहभागी हुन पाइन्थ्यो । स्कुले जीवनको अन्तिम परीक्षा भएकाले एसएलसीलाई विशेष महत्वकासाथ लिइन्थ्यो ।

जिल्ला स्तरीय टेस्ट परीक्षा उत्तीर्ण गरिसकेपछि एसएलसी परीक्षाका लागि फर्म भरिन्थ्यो । त्यसपछिको समय विद्यालयमा कुनै कक्षा हुँदैनथ्यो । विद्यालयमा बिदाइ समारोह कार्यक्रम राखिन्थ्यो । कार्यक्रममा शिक्षकवर्गले १० वर्षको लामो सम्बन्धलाई केलाउँदै सुखद् जीवनको कामना गर्दै बिदाइ गर्थे । त्यो पल भावुक भएको मलाई अझै स्मरण छ । लाग्थ्यो हामी परीक्षा भन्दा पनि कुनै युद्धका लागि छुट्टिंदैछौं ।

वास्तवमै त्यसपछि विद्यालयसँगको दूरी क्रमश: बढ्दै जान्थ्यो । सबै आ–आफ्नै घरमा नै तयारी गर्ने, मेहनत गर्ने हुन्थ्यो । आफ्नो घर इटहरीमा थिएन, म र कमल कोइराला भाडाको कोठा लिएर तयारी गर्न थालेका थियौं । हामीसँग दिनभर पारसमणि भण्डारी हुन्थे । पारसको घर नजिकै भएकाले खाना खान र सुत्न चाहिं घर नै जान्थ्यो

विद्यालयको पहिलो ब्याच भएर पनि होला, शिक्षकहरु हामीलाई सूक्ष्म तरिकाले निगरानी राखेको भान हुन्थ्यो, यद्यपि प्रत्यक्षरुपमा कुनै परिबन्धहरु थिएनन् । त्यो तयारीमा पनि हामी मस्त थियौं । एसएलसी दिने भनेपछि अभिभावक मात्रै होइन, टोलछिमेकीहरुले पनि चासोपूर्वक हेर्ने गरेको अनुभूत हुन्थ्यो ।

त्यही बेलादेखि एसएलसीमा ‘होम सेन्टर’ नहुने भयो । अर्थात् इटहरीका विद्यालयका सेन्टर नै इटहरीमा नराखेर इटहरी बाहिर राख्ने भयो । त्यसैले इटहरीका सबै विद्यालयको सेन्टर तरहरा भएको थियो । इटहरीबाट तरहरा नजिक भए पनि म कहिले तरहरा घुमेको थिइनँ । हाम्रो ब्याचका नौ जनामध्ये कोही पनि तरहराको स्कुल पुगेका थिएनन् ।

पहिलो दिन विद्यालयले सेन्टर पुर्‍याइदिने वा अभिभावकले पुर्‍याउने चलन सायद त्यसबेला थिएन । प्रवेशपत्र लिएर गोदावरी स्कुलका हामी नौ जना साथी सार्वजनिक बस चढेर तरहरा पुग्यौं । इटहरीबाट तरहराको भाडा २ रुपैयाँ रहेछ, तर विद्यार्थीहरुले मात्र २५ पैसा तिर्ने चलन थियो । हामी ९ जनाको २ रुपैयाँ २५ पैसा दिनुपर्ने तर हामी २ रुपैयाँ भन्दा बढी कहिल्यै तिरेनौं ।

तरहरा चोकबाट करिब १५ मिनेट पैदल हिंडेर केन्द्रमा पुग्नु, हलमा छिर्दा सबैलाई वेस्ट विशेष’ भन्नू अनि परीक्षापछि सबै सँगै इटहरी फर्किनु सबै जीवनकै महत्त्वपूर्ण क्षण रहेछ । एसएलसीपछि सबै छुट्टिनु, उच्च शिक्षाका लागि घर भन्दा टाढाको सहरमा भौंतारिनु, एकातिर स्वतन्त्रता र अर्कातिर सबै व्यवस्थापन आफैंले गर्नुपर्ने बाध्यता भएकाले होला एसएलसीलाई आइरन गेट भनिन्थ्यो । एसएलसीपछि के पढ्ने, कहाँ पढ्ने मात्रै होइन कसरी पढ्ने अनि कसरी बस्ने ? आदि निर्णयहरु पनि स्वयंले नै लिनुपर्ने वातावरण थियो ।

आज त्यस्तो वातावरण छैन । एसईईका लागि परीक्षार्थीहरुलाई विद्यालय अनि अभिभावकले डोर्‍याउने गरेको देखिन्छ । एसईईपछि पनि एक्लै घर छोडेर के पढ्ने, कहाँ पढ्ने निर्णय लिन सक्ने क्षमताको विकास भइसकेको देखिंदैन । कक्षा ९ र १० को संयुक्त परीक्षा जस्तो रहेको एसएलसीबाट एसईई हुँदा कक्षा ९ का पाठ्यक्रम हटेर कक्षा १० को मात्रै राख्न थालियो । अनि अनुत्तीर्ण नै हुनुपर्ने ग्रेड प्रणालीले गर्दा यसको ‘सान’ पनि कमी आएको छ । अब त १२ पछि मात्रै कहाँ, के, कसरी पढ्ने जस्ता कुरामा स्वयंले निर्णय गर्ने, व्यवस्थापन मिलाउने हुन्छ । त्यसैले सायद अब एसईईलाई आइरन गेट भन्नुभन्दा पनि १२ लाई पो भन्नु पर्छ कि ? स्वतन्त्रतापूर्वक स्वयंले गर्ने व्यवस्थापनको आइरन गेट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *