खोपले दादुरा निवारण गर्न सकिन्छ ?

समाचार

समाजमा दादुरा सयौं वर्षदेखि अस्तित्वमा रहेको छ । यस रोगका बारेमा पहिलो पटक दशौं शताब्दीमा चिकित्सक अबु वाकरले लेखेका छन् । तर यस रोग लगाउने विषाणु संसारमा आजभन्दा २६ सय वर्ष अगाडि उत्पत्ति भएको थियो ।

शताब्दीयौं अगाडि चिकित्सकहरुलाई समेत दादुरा र बिफरमा के फरक छ भनी छुट्याउन असहज भएको थियो । सत्रौं शताब्दीमा मात्रै बेलायती सरकारले यी दुई रोगलाई छुट्टाछुट्टै हुन भनी सूचीकृत गर्‍यो ।

दादुरा अत्यन्तै संक्रामक रोग हो । एउटा संक्रमित व्यक्तिले १८ जनासम्मलाई सार्न सक्छ । दादुराको खोप सुरू हुनुभन्दा अगाडि यो रोग संसारभरि थियो र यसका कारण असंख्य बालबालिकाहरु मृत्युको मुखमा पुगे । एउटा अनुमान के गरिएको छ भने विश्वमा दादुराको खोप प्रयोग हुनुभन्दा अगाडि २० लाख भन्दा बढी मानिसको दादुराको कारणले मृत्यु भयो ।

दादुराविरुद्धको खोप नपाएका व्यक्तिलाई दादुरा संक्रमण भयो भने यसबाट हुने जटिलताका कारण संक्रमित मध्ये १० देखि ३० प्रतिशतसम्म मृत्यु हुनसक्छ । सन् १८७४ मा दादुराका कारण फिजीमा भन्ने देशमा संक्रमितमध्ये एक तिहाइको मृत्यु भएको थियो । सन् २०१९ को तथ्यांकअनुसार विश्वमा दुई लाख व्यक्तिको दादुराको कारणले मृत्यु भएको थियो । विश्वमा यो रोग अहिले पनि बिरामी र मृत्यु हुने प्रमुख कारण हो ।

दादुराबाट संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्यूँ गर्दा निस्किने थुक वा सिंगानका छिटा हावाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । यो रोग लागेपछि अनुहार र शरीरमा डाबरहरु देखिने, ज्वरो आउने, नाकबाट सिंगान बग्ने, खोकी लाग्ने, आँखाको परेला रातो हुने जस्ता लक्षण र चिन्हहरु देखिन्छन् । समयमै उपचार गरिएन भने कान पाक्ने, निमोनिया हुने, पखाला र मस्तिष्कको संक्रमण मृत्यु समेत हुनसक्छ ।

पाँच वर्षमुनिका बालबालिका, कुपोषित तथा रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, विद्यालय र घनाबस्तीमा रहेका मानिसहरु, अति विकसित मुलुकमा रहेका मानिसमा सधैंभरि दादुराको जोखिममा रहेका हुन्छन् ।

विश्वमा पहिलोपटक सन् १९६३ (वि. सं. २०२०)मा दादुराको खोपले आमरुपमा लगाउनका लागि मान्यता प्राप्त गरिसकेपछि विश्वका धेरै मुलुकले यही खोप लगाएर दादुरा निवारण गरिसकेका छन् । यो खोपको प्रभावकारिता यसै तथ्यबाट पुष्टि हुन्छ ।

नेपालमा आमा र बालबालिकालाई केन्द्रित गरी मातृ तथा बाल स्वास्थ्य क्लिनिक २०२२ सालमा वीर अस्पतालमा खुल्यो । त्यस क्लिनिकमार्फत पहिलो पटक आमाहरुलाई बालबालिकाको खोपबारेमा सचेतना जगाउने काम भएको थियो । त्यसपछि साझा स्वास्थ्य सेवा (हाल ट्रमा सेन्टर भएको स्थान)बाट डीपीटी र पोलियोको खोप दिइन्थो । वीर अस्पतालमा रहेको उक्त चिकित्सालय (छातीरोग केन्द्र) बीसीजी खोप दिइन्थ्यो । २०३४ सालबाट मात्र नियमित खोप सेवा सुरु भयो । २०३६ सालदेखि नियमित खोप सेवामा दादुराको खोपले प्रवेश पायो । २०४५ सालदेखि नेपालभर यी खोपहरु नियमित रुपमा निःशुल्क बालबालिका दिन थालियो ।

दादुराको खोपमार्फत बालबालिकाको शरीरमा दादुरा रोगविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता विकास हुन्छ । नियमित खोपमार्फत दुई मात्रा र विभिन्न समयमा सञ्चालन गरिने दादुरा रुवेला खोप अभियानमार्फत थप मात्रा दिइयो भने दादुरा निवारणका लागि समेत थप बल पुग्छ ।

नेपालले पनि सन् २०२६ (वि. सं. २०८३) सम्ममा नेपालबाट दादुरा रोग निवारण गर्न लक्ष्य राखेको छ । सबै स्वास्थ्यकर्मी, अभिभावक, जनप्रतिनिधि, राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्था र सञ्चार जगत सक्रियतापूर्वक लाग्ने हो भने यो लक्ष्य प्राप्त गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *