काण्डैकाण्डले घेरिएका महरा : लडाकू शिविर, अडियो टेप, यौन र सुनसम्म

समाचार

काठमाडौं । राजनीतिक जीवनको साढे चार दशक लामो यात्रामा पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा निरन्तर शक्तिमा रहे । उनको शक्तिका सारथी बनिरहे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।

माओवादी सशस्त्र युद्धअघि ०४८ सालमा मशालबाट चुनाव जितेर संसदीय दलको नेता बन्दादेखि ०७४ सालमा सभामुख हुँदासम्म महरा सधैँ शक्तिको नजिक रहे, कम्तीमा प्रचण्डका अनवरत सारथी बनिरहे ।

पार्टी अध्यक्ष प्रचण्ड देशको प्रधानमन्त्री पदमा भएकै बेला उनै महरामाथि अवैध सुन तस्करीमा संलग्न भएको आरोपमा मुद्दा चलाउन सिफारिस भएको छ । सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ ।

उनीमाथि लागेको आरोपको घनत्व कति छ, छानबिनपछि पुष्टि होला । तर, मुलुकको उच्च पदमा रहिसकेका व्यक्ति यस्तो संगीन आरोपमा मुछिनु राष्ट्रकै लागि लज्जाको विषय भएको विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की बताउँछन् ।

‘राज्यको उच्च पदमा रहिसकेको व्यक्ति शक्ति र रवाफमा राज्यसंयन्त्र नै कब्जा गरेर सुन तस्करीमा लाग्नु लज्जाको विषय हो’, उनी भन्छन्, ‘संलग्नहरूलाई तत्काल कारवाही प्रक्रिया थाल्नुपर्छ ।’

आयोगले सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरासँगै अनुसन्धानमा संलग्न उच्च पदस्थ प्रहरी अधिकारीहरू, भन्सारका कर्मचारी र पूर्व प्रहरी प्रमुखका व्यापारिक साझेदारलाई समेत मुद्दा चलाउन सिफारिस गरेको छ । यसले सत्ता र शक्तिको दुरूपयोगलाई पर्दाफास गरेको छ ।

यस्ता अपराधिक घटनामा माथिल्लो तहका राजनीतिज्ञहरूको संलग्नता बढिरहेको तर्फ संकेत गर्दै कार्की उनीहरूलाई समेत कानुनको दायरामा नल्याउने हो भने यस्ता अपराधिक धन्दा नरोकिने बताउँछन् ।

विवादित गतिविधिमा महरा

युद्धकालीन राजनीतिसम्म इमान्दार नेताको छवि बनाएका महरा शान्तिपूर्ण राजनीतिमा आएसँगै एकपछि अर्को विवादमा निरन्तर मुछिँदै र जोगिँदै आए । शान्ति प्रक्रियामा आएपछि अन्तरिम संसदको सदस्य बनेका महरा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बने ।

त्यही बेला माओवादीले लडाकू व्यवस्थापनका लागि शिविर निर्माण र उनीहरूको व्यवस्थापनका नाममा राज्यकोषबाट करिव ४० करोड रुपैयाँ पेश्की रकम लगेको थियो । पेश्की फर्स्योट नभएपछि महालेखा परीक्षक कार्यालयले सञ्चारमन्त्री रहेका महरामाथि प्रश्न उठाएको थियो ।

त्यसपछि माओवादी नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला मन्त्रिपरिषदले शिविर व्यवस्थापनको सबै खर्च अनुमोदन गरेको थियो । महरामाथि प्रश्न त उठ्यो, तर राजनीतिक करियरमा नोक्शान पुगेन । सञ्चार मन्त्रालयमा रहँदा उनीमाथि टेलिकमको फ्रिक्वेन्सी सस्तो मूल्यमा निजी कम्पनीहरुलाई दिएको आरोप लागेको थियो ।

त्यस्तै १८ भदौ २०६७ मा उनले एक चिनिया नागरिकसँग ५० करोड रुपैयाँ माग गरेको अडियो सार्वजनिक भएको थियो । उक्त अडियोमा उनले आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गर्न सांसद खरिद गर्नुपर्ने भन्दै रकम मागेका थिए ।

अडियो टेप सार्वजनिक भएपनि उनीमाथि अनुसन्धान भएन । पदाधिकारीविहीन अवस्थामा रहेको त्यतिबेलाको अख्तियारमा सचिव भगवतीकुमार काफ्ले कार्यवाहक प्रमुख थिए, उनले अनुसन्धान अघि बढाउन सकेनन् ।

२०७४ सालको आम निर्वाचनमा दाङ-२ बाट चुनाव जितेका महरा सभामुख निर्वाचित भए । सभामुख रहेकै बेला २०७६ सालमा महरामाथि संघीय संसद सचिवालयकै कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लाग्यो । आरोप लागेका महरा पक्राउ परे र पुर्पक्षका लागि थुनामा पनि परे । तर जिल्ला अदालतबाट सफाइ पाएपछि रिहा भए ।

पछि उनले सफाइ पाएको फैसलालाई उच्च अदालत पाटनले पनि सदर गर्‍यो । त्यसपछि भने सरकारी वकिलको कार्यालयले सर्वोच्च अदालतमा यो मुद्दामा पुनरावेदन नै दिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *