पीडित नै अपराधीजस्तो बनेर कसैले हिँड्नु नपरोस्

समाचार

घटनापछि म एक्लै लडेको हो । आफूमाथि अपराध गर्ने विरुद्ध लडियो । लड्दा लड्दै आफन्त विरुद्ध लडियो, आफ्ना विरुद्ध पनि लडियो । आफूमाथि अपराध गर्ने विरुद्ध त म अठोटका साथ नै लडेको हो ।

घटनापछि म आफैं लामो समय बिक्षिप्त भएँ । पछि आफ्नो ज्यान नै खतरामा हुने अवस्था आयो, त्यतिबेला पनि मैले हिम्मत जुटाए ।

यस्ता अपराध र शोषणमा कतिपय मानिसहरु लड्न डराउनुभएको छ । मैले उहाँहरुलाई कृपया लड्न नडराउनुहोस् भन्न चाहन्छु । अन्यायविरुद्ध लड्ने हो भने न्याय अझै मरेको रहेनछ भन्न चाहन्छु । न्याय पाइँदो रहेछ ।

मुद्दाको अन्तिम सुनुवाइ सुरु भएदेखि नै म अदालतमा गएर इजलासमा बसिरहेको थिए । सुनुवाईको अन्तिममा मैले आफ्नो कुरा पनि राखेँ । म जसरी पनि लड्छु र लड्न हिम्मत हार्दिन भनेर इजलासमा आफूमाथि भएको कुरा राखेँ ।

साथसाथै प्रतिवादीको एउटा सामाजिक सञ्जाल पोष्टमा मैले केही लेखेको थिएँ । ‘जति गर्नु छ, जेल बाहिर हुँदा गर, तँ ढिलो चाँडो जेल जाने नै हो’ भनेर प्रतिक्रिया दिएको थिएँ ।

किनभने अरुलाई थाह नभए पनि मलाई त उ अपराधी हो भन्ने थाह छ । अरुले नदेखे पनि उसले ममाथि गरेको अपराध त मलाई राम्ररी थाहा छ । त्यसैले आफूलाई रोक्न सकिनँ र लेखेँ । मैले लेखेको कुरा इजलासमा प्रश्न उठेकाले मैले आफ्नो भनाइ राखेकी हुँ ।

इजलासमा बहसका क्रममा सीसीटीभी फुटेजमा देखिएको दृश्यमाथि कुरा उठ्यो । मैले मास्क खोलेको कुरा उठाएर प्रश्न उठाइएको थियो । घटनापछि मलाई यो व्यक्ति अपराधी हो भन्ने महसुस भयो । यसले ममाथि अपराध गरेको छ भन्ने महसुस भएपछि आफ्नो पहिचान देखियोस् भन्नका लागि मास्क खोलेको थिएँ ।

मैले यो डेढ वर्षको अवधिमा निकै पीडा र संघर्ष गर्नुप¥यो । अझै पनि मैले असुरक्षित महसुस गरिरहेको छु । यो बीचमा म पटकपटक अस्पताल भर्ना हुनुप¥यो । अझै पनि बाहिर हिँड्दा, कोही मान्छेहरुले कुरा गर्दा, आँखा तरेर हेर्दा अझै पनि कसैले केही गर्छन कि जस्तो महसुस हुन्छ ।

आफूमाथि अपराध गर्नेहरु समाजमा वाहवाही हुने तर एउटा पीडित नै अपराध गरे जसरी समाजमा हिँड्नुपर्ने पीडा कसैले भोग्नु नपरोस् । केही दिनमै मेरो परीक्षा सुरु हुँदैछ, तर आजसम्म म अदालत धाइरहेको छु । ३/४ दिन निरन्तर बहस सुन्दा असाध्यै पीडा हुन्थ्यो । तर पनि म आशावादी थिएँ । एक दिन न एक दिन यो मानिस न्यायको कठघरामा उभिनुपर्छ र उसलाई उभ्याउनसक्छु भन्ने आत्मविश्वास थियो ।

अन्त्यमा न्याय पाइयो, म एकदमै खुसी छु । सबैतिरबाट प्रहार हुँदा पनि केही मानिसहरु, समाजका अगुवाहरुले आड भरोसा दिनुभयो । कानून व्यवसायीहरुले मेरो न्यायिक संघर्षमा साथ दिनुभयो । उहाँहरुले हौसला दिनुभयो । मलाई जीवनप्रति आशा जगाइदिनुभयो, म उहाँहरुप्रति आजिवन आभारी हुने छु ।

ममाथि अन्याय गर्ने व्यक्ति के कति कारणले दोषी ठहर भए भन्ने मैले थाह पाएको छैन, दोषी ठहर भएको भन्ने खवर मात्रै सुने । तर मैले माग गरेको विषयवस्तु र आधारविना फैसला भएको रहेछ भने न्याय पाएको महशुस हुदैन । म आफूमाथि पूर्ण न्यायका लागि माथिल्लो अदालतमा जान्छु जान्छु ।

अब झन आत्मविश्वास पलाएको छ, म लड्छु । उमेरको हकमा समेत मेरो जे दावी हो, त्यसमा सम्बोधन भएन भने मैले माथिल्लो तहको अदालतमा न्याय खोज्छु । आफूमाथिको अन्याय यथावत रहेर आंशिक न्याय हुने कुरा मलाई स्विकार्य छैन ।

न मेरो आर्थिक अवस्था राम्रो थियो, न यो अप्ठेरो अवस्थामा आफन्तबाट सहयोग नै भयो । आफूमाथि यो स्तरको आक्रमण हुदा उहाँहरुकै सहयोगले म यहाँसम्म आएको हुँ । मजस्तै अन्यायमा परेकाहरुलाई अगाडि आउनुहोस्, अन्याय विरुद्ध चुप नबस्नुहोस् भन्न चाहन्छु ।

जुनसुकै अवस्था र परिस्थितीमा भएपनि बलात्कार अपराध नै हो । मान्छे लोकप्रिय होस् वा अरु, त्यसको आडमा अपराध गर्ने छुट कसैलाई छैन । अरुको केही कमजोरीको फाइदा उठाएर गरेको अपराध जायज हुन सक्दैन । जे होस, सत्यको पक्षमा फैसला भयो । मेरो न्यायको निम्ती बोलिदिने सबैलाई धन्यवाद दिन चाहन्छु ।

(जिल्ला अदालत काठमाडौंको फैसलापछि ‘गौशाला–२६’ सँग गरिएको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *