गैंडा मारेको घटना छानबिन समितिले उठायो निकुञ्जको सुरक्षामाथि गम्भीर प्रश्न

Uncategorized समाचार

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहा अन्तर्गत चपरचुली सुरक्षा पोष्ट नजिकै कोर क्षेत्रमा तस्करहरुले दुईवटा गैंडा मारेको घटना छानबिन गर्न गठित समितिले निकुञ्जको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।

निकुञ्जको मुख्य कार्यालय कसरा, सेक्टर कार्यालय सौराहा, रेञ्ज पोष्ट र पोष्टबाट गरिने गस्ती प्रभावकारी नभएको उल्लेख गरिएको प्रतिवेदनमा संयुक्त गस्तीको संख्या नै कम भएको दाबी गरिएको छ । अधिकांश समय राप्ती नदी तटीय क्षेत्रमा गस्ती गर्दा कोर इलाका र गैंडाको बासस्थानमा ध्यान केन्द्रित हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

चोरी शिकारी नियन्त्रण गर्न नयाँ सोच ल्याउनुपर्नेमा नभएको, संवेदनशील क्षेत्रमा तालिका बनाएर लङ रेन्ज पेट्रोल र स्वीपिङ कमी भएको, सुराकी व्यवस्थापन, सूचना संकलन र विगतमा अदालतबाट भएका फैसला अनुसार जेल सजाय भुक्तान गरी बाहिर निस्केका व्यक्तिको निगरानी नभएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तस्करहरुको समूहले निकुञ्ज क्षेत्रभित्र दुईवटा खाल्डोमा पारेर दुईवटा गैंडा मारेको र खाग र खुर काटेर लगेको घटना कात्तिक मसान्तमा सार्वजनिक भएको थियो । घटना सार्वजनिक भएको भोलिपल्ट अर्थात् मंसिर १ गते वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । सोही समितिले मंसिर १२ गते बुझाएको प्रतिवेदनमा निकुञ्जको सुरक्षा प्रबन्धमाथि गम्भीर प्रश्न उठाइएको छ ।

प्रतिवेदनमा के छ ?

तस्करहरुले घोलबाट ५० मिटरको दूरीमा खनेको २.६ मिटर लम्बाइ, १.१ मिटर चौडाइ र १.५ मिटरको खाडलमा ६ वर्षको पोथी गैंडा र २.५ मिटर लम्बाइ, १.४ मिटर चौडाइ र १.५ मिटर गहिरो खाडलमा १८ वर्षको पोथी गैंडा परेका थिए ।

समितिले थप क्षति हुन नदिन २०८० माघ १ गतेभित्र निकुञ्जको पुरै क्षेत्रमा तत्काल स्वीप अप्रेशन चलाएर वर्तमान अवस्थासहितको प्रतिवेदन विभागमा पेश गर्न पनि भनेको छ ।
पहिले ठूलो गैंडा र त्यसको ७ दिनपछि सानो गैंडा खाडलमा परेका थिए । ठूलो गैंडाको आकार बराबरको खाडल भएकाले टाउको तल परेर घाँटी भाँचिएर गैंडा मरेको थियो । गैंडाका करङ्गहरुसमेत भाँचिएका थिए । गैंडा मरेपछि खाग फुकालेको र सानो गैंडा ठूलो खाडलमा परेकाले तत्काल नमरेपछि नजिकैबाट गोली हानेर मारेर धारिलो हतियारले खाग काटेर लगेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

घटनास्थल नजिकै आगो बाल्ने अगेनो, कपडाका टुक्रा, पानीका बोतलसमेत भेटिएकाले तस्करहरु सेल्टर बनाएर बसेको देखिएको छ । जंगलभित्र नै गैंडाको खाग काटेर, आगो बालेर खाग उमालेर सफा गरेको पनि पाइएको छ । तर निकुञ्ज प्रशासनले त्यसको सुइँकोसम्म पाएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *