दसैँको मुखमा चर्को मूल्यवृद्धि, निगमको निर्णयप्रति उपभोक्ता आक्रोशित

समाचार

काठमाडौँ । हिन्दु नेपालीहरूको महान् चाड दसैँको मुखमा मूल्यवृद्धिलाई प्रशय दिने काम गरेको भन्दै सरकारले अर्को विरोध भएको छ । प्रभावकारी बजार अनुगमन नभएर कालोबजारी बढेको टिका टिप्पणी भइरहँदा नेपाल आयल निगमले सर्वसाधारणलाई थप भार पर्ने गरी फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै उपभोक्ता आक्रोशित बनेका हुन् । निगमले स्वचालित मूल्य प्रणालीको नाममा एक पछि अर्को गर्दै मूल्यवृद्धिको निर्णय गर्दै आएको छ ।

सरकारले महँगीको मारमा परेका जनतालाई सम्बोधन गर्नेगरी कार्यक्रम ल्याउनुपर्नेमा त्यस विपरीत झन् मूल्यवृद्धिलाई नै प्रशय दिने र उपभोक्ताको ढाड सेक्ने काम गरेको भन्दै उपभोक्ता अधिकारकर्मीहरुले विरोध जनाएका छन् ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आफूले विगत ४० वर्षदेखि उपभोक्ता अधिकारकै क्षेत्रमा निरन्तर काम गरेको उल्लेख गर्दै पछिल्लो समयमा बढेको महँगी सबैभन्दा बढी भएको तर्क गरे । ‘व्यवसायीहरूलाई हामीले अनुचित व्यापारिक क्रियाकलाप गरे, कालोबजारी गरे, मुनाफा धेरै खाए भनेर हामीले भन्दै आएका थियौँ’, उनले रातोपाटीसँग भने, ‘तर, विगत केही समयदेखि नेपाल आयल निगमले कालोबजारी त गरेकै छ, विभिन्न नाकाहरूबाट अनुचित तरीकाले तस्करीबाट आएको पेट्रोलियम पदार्थ समेत विक्री वितरण गर्दै आएको छ । तर त्यसलाई कारबाही गरेको छैन ।

त्यसमा लेनदेनको सवाल भएको दाबी गर्दै महर्जनले ग्यासमा बढाइएको मूल्यवृद्धि पनि व्यवहारिक नभएको बताए । ‘हामीले धेरै पटक भनेका छौँ, आपूर्ति मन्त्रालयले पनि के भनेको थियो भने ग्यासमा स्वचालित मूल्य प्रणाली लागू हुँदैन । गर्दैनौँ भनेर नेपाल आयल निगमले भन्दै आएको पनि थियो । तर, केही समय अगाडिबाट ग्यासलाई समेत अटो प्राइसिङ सिस्टममा राख्ने नाममा अत्यधिक मूल्य बढाउने काम भएको छ’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *