बालेनलाई चुनावी वाचा सम्झाउन १२८ घन्टा उभिंदैछन् ईः

समाचार

काठमाडौं । डेढ वर्षअघि चुनावी अभियानमा रहँदा काठमाडौं महानगरका मेयर बालेन शाह फुटपाथ व्यवसायलाई हटाउने होइन, व्यवस्थापन गर्नुपर्ने मत राख्थे ।

महानगरमा साना सडक व्यवसायीको व्यवस्थापन ठूलो कुरा नभएको बताउँदै उनी निश्चित समय र स्थानमा न्यूनतम शूल्क लिएर निरन्तरता दिने अन्तर्राष्ट्रिय अभ्यास रहेको उदाहरण समेत दिन्थे । त्यति मात्र होइन, गायक रामेशले संगीत भरेको ‘गरिबको चमेली बोल्दिने कोही छैन…’ गीत उनको चुनावी नारा नै बन्न पुग्यो ।

र्‍याप संगीतको भाव अनि इञ्जिनियरिङ पृष्ठभूमिको विधागत ज्ञानबाट आएका बालेनलाई चुनावका बेला सर्वत्र गुञ्जिएको यो गीतले विपन्न वर्गको पक्षमा वकालत गर्ने युवा नेताको छवि दिलायो । तर, १२ जेठ २०७९ मा मेयरमा निर्वाचित भएयता बालेन्द्र शाह सडकमा व्यवसाय गरेर दैनिक गुजारा चलाउने यही वर्ग विरुद्ध निर्मम देखिए ।

पदमा पुगेपछि बालेनले गीत बिर्से, प्रतिबद्धता बिर्से भन्नलाई प्रहरी नियन्त्रणमा परेका गरिबहरूको तथ्यांक काफी छ । आर्थिक वर्ष २०७९/८० को साउन अन्तिमसम्म महानगरले सडक व्यवसाय गर्दै आएका १ हजार १४५ जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरूबाट ६ लाख ८६ हजार ३०० रुपैयाँ जरिवाना असुल गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा महानगरले ५०७ जनालाई नियन्त्रणमा लिएर २ लाख २३ हजार १०० रुपैयाँ जरिवाना असुल गरेको नगर प्रहरीको तथ्यांक छ ।

यसरी मेयर शाहले चुनावअघिको वाचा विपरित विकल्प विना गरिब र सीमान्तकृत वर्गको गाँस खोसेको भन्दै सामाजिक अभियन्ता ईः सहितका अभियन्ताहरूले मेयर र उपमेयरको कार्यालय अगाडि ‘भद्र’ प्रदर्शन गरिरहेका छन् ।

मेयरको चुनाव अघिको वाचा र निर्वाचित भएपछि गरेको काममा तादाम्य नमिलेको भन्दै राष्ट्रिय सभागृह अगाडि १२८ घन्टासम्म उभिएर अभियन्ता ईः, र प्रविण काफ्लेले विरोध जनाइरहेका छन् ।

‘चुनावका बेलादेखि उठाएका विषयमा जवाफदेहिता माग गरेका हौं, ठिङ्ग उभिएर प्रदर्शन गरेर मेयर सा’बलाई आफ्नै वाचा सम्झाउन खोजेका हौं’ प्रदर्शनस्थलमा ईः ले अनलाइनखबरसँग भने, ‘अहिलेलाई १२८ घन्टा उभिएर विरोध प्रदर्शन गर्ने अभियान हो, महानगरले सुनुवाइ नगरे यो अभियान थप लम्बिन सक्छ ।’

सामाजिक अभियन्ता ईः तिनै व्यक्ति हुन्, जसले कोभिड-१९ महामारीका बेला ‘इनफ् इज इनफ्’ अभियान चलाएका थिए । कोरोना महामारी नियन्त्रणका लागि सकारात्मक पहल नगरेको भन्दै २३ दिनसम्म आमरण अनशन बसेका थिए ।

किन उभिएर विरोध ?

अभियन्ता ईःका अनुसार, मेयर शाहले चुनाव अघि नगर प्रहरी दमनकारी हुनुहुँदैन भन्ने मत पनि जोडतोडले राखेका थिए । नगर प्रहरी भनेको नागरिकलाई दुःख दिने होइन, सम्झाउने र नियम, कानुनमा बाँध्ने शक्ति हो भन्थे ।

तर, उनको बुझाइमा निर्वाचित भएपछिको बालेन-व्यवहार ठिक विपरीत छ । त्यसैले मेयरको जवाफदेही खोज्दै ईः सहितको समूहले केही महिनायता राष्ट्रिय सभागृह अगाडि ‘गरिबको चमेली, बोल्दिने कोही छैन’ गीत गाएर प्रदर्शन गरिरहेको थियो । उनीहरूले ठेलागाडा र साना सडक व्यवसायीलाई उचित व्यवस्थापन गर्न माग गरेका थिए । तर, मेयर शाहले सुनुवाइ गरेनन् ।

‘दुई महिनाअघि मेयरको सचिवालयबाट एक जनाले सडक व्यवसाय व्यवस्थापनका लागि पोलिसी फ्रेम वर्क दिनु भन्नुभएको थियो’ ईः भन्छन्, ‘लिखित रूपमा दिएका पनि थियौं, यद्यपि कुनै सुनुवाइ भएन ।’ सचिवालयबाट मागिए पनि मेयरबाट सम्बोधन नभएको सन्देश आफूले पाएको ईः बताउँछन् ।

त्यसबीच नगर प्रहरीबाट सडक व्यवसायीमाथि दुर्व्यवहारका घटना पनि बढ्दै गए । सडक व्यवसायीप्रतिको व्यवहारलाई लिएर मेयर बालेन र नगर प्रहरीको आलोचना पनि हुन थाल्यो । ‘त्यसपछि मेयरलाई पुरानो वाचा सम्झाउनुपर्छ भन्ने भयो, अनशन बस्नका लागि तत्काललाई मसँग कन्भिक्सन थिएन’ ईः थप्छन्, ‘त्यसैले उभिएर विरोध प्रदर्शन गर्ने निर्णय गरें ।’

सुरुमा आफूले एक्लै हुन्छु होला भन्ने सोचे पनि दुई जना साथीहरू थपिएको उनी बताउँछन् । ‘उभिनु भनेको अडान हो भन्ने सन्देशमा भद्र अवज्ञा गरेका हौं’ उनी भन्छन्, ‘नियमित उभिएर प्रदर्शन गर्ने तीन जना भए पनि दिउँसो साथ दिन १५/२० जना आइराख्नुभएको छ, धेरैको साथ पाएका छौं ।’

ईः सँगै उभिएर विरोध जनाइरहेका सौरभ न्यौपाने (चाउ) चुनाव अघि बालेनका लागि भोट माग्दै हिंडेका युवा हुन् । ‘त्यतिबेला माहोल नै अर्कै थियो, एउटा युवाले परम्परागत शक्तिहरूलाई चुनौती दिइरहेको थियो’ उनी भन्छन्, ‘तर डेढ वर्षमा म आफैं विरोध प्रदर्शनमा उत्रिनु पर्दा खिन्न छु ।’

ईःसँगै विरोध प्रदर्शनमा सहभागी प्रविण काफ्ले ।
न्यौपानेका अनुसार, बालेनको निर्णयबाट सडक व्यवसायमा आश्रित काठमाडौंका १० हजार परिवार विस्थापित भएका छन् । ‘उहाँले पहिले जसरी विश्वले सडक व्यापारलाई व्यवस्थित गरिरहेको छ भन्दै उदाहरण दिनुहुन्थ्यो, त्यसरी नै काठमाडौंमा पनि व्यवस्थापन गर्नुहोस् भन्ने अपेक्षा हो’ न्यौपाने भन्छन्, ‘यो शहर गरिबको पनि हो भन्ने मेयरलाई स्मरण होस् भनेर यो अभियानमा जोडिएका हौं ।’

सबैले आशा गरेको मेयरले बाटो बिराउँदा प्रश्न गर्नु आफूहरूको दायित्व भएको बताउँदै उनी थप्छन्, ‘गरिबको पक्षमा उभिंदा उनीप्रति नै राम्रो सन्देश फैलिन्छ भन्ने लाग्छ ।’

तर चुपचाप छ काठमाडौं महानगर

मेयरको कदम विरुद्ध भद्र प्रदर्शन सुरु गरेको शुक्रबार तेस्रो दिन पुगेको छ । अभियन्ता ईःका अनुसार, हालसम्म महानगरपालिकाबाट कुनै प्रतिक्रिया आएको छैन । भन्छन्, ‘आउने स्थिति पनि देख्दिनँ, कुनै जवाफ नआए अभियान लम्बिन पनि सक्छ ।’

ईः सहितका युवाको अभियानप्रति मेयर बालेन शाह सहित सिंगो महानगर प्रशासन अनभिज्ञ रहेको पनि होइन । ‘हिजो विभिन्न अभियानमा हामीसँगै भएका साथीहरू अहिले मेयरको सचिवालयमा हुनुहुन्छ, तर उहाँहरू थाहा पाएर पनि थाहा नभए जसरी बस्नुभएको छ’ ईः गुनासो गर्छन्, ‘मेयर स्वयम् प्रश्नभन्दा माथि हुन खोजेका छन् ।’

ईः का अनुसार विगतमा डा. गोविन्द केसीको विषयमा आन्दोलन हुँदा बालेनका कानुनी सल्लाहकार ओमप्रकाश अर्याल एउटै समूहमा थिए । सचिवालयका भुपदेव शाह, सस्मित पोखरेल, धिरज जोशी, सुरेन्द्र बजगाईं लगायत पनि विगतमा विभिन्न अभियानमा सँगै हिंडेको साथीहरू भएको उनी बताउँछन् ।

‘उपमेयर सुनिता डंगोलसँग पनि पहिले अभियानमा जोडिएको हो, मेयर बालेन स्वयम् पहिले चुल्ठे, मुन्द्रेको कपाल काट्दै हिंड्दा साथमै हुनुहुन्थ्यो’ ईः सम्झन्छन्, ‘दोस्रो संविधानसभाका बेला नयाँ उम्मेदवारलाई मौका दिउँ भनेर अभियान चलाउँदा पनि उहाँ आउनुहुन्थ्यो, उहाँको सचिवालयमा काम गर्ने धेरै साथीभाइ नजिककै हुनुहुन्छ ।’

यद्यपि, अभियन्ताहरूले उठाएको प्रश्नको जवाफ महानगरले हालसम्म दिएको छैन, दिन चाहेको छैन । यसप्रति ईः को गुनासो छ । भन्छन्, ‘मेयरबाट जम्मा खोजेको जवाफदेहिता हो, तर उहाँ पनि यो मामलामा पुराना नेताभन्दा भिन्न देखिनुभएन ।’

दुई महिनाअघि मेयरको सचिवालयमा बुझाएको ‘पोलिसी फ्रेम वर्क’मा अभियन्ताहरूले तत्काललाई बिहान र बेलुकीको समयमा फुटपाथ व्यवसाय गर्न दिन भनिएको थियो ।

ठेलागाडा वा साइकल लिलामलाई तत्काल रोक्नुपर्ने भनिएको थियो । जफत गरिएको सामान फिर्ता वा मुआब्जा दिन पनि भनिएको थियो ।

‘तत्काललाई यसो गरेर दीर्घकालका लागि एउटा समिति बनाएर विस्तृत अध्ययन गरेर नतिजा के आउँछ, त्यसअनुसार जाउँ भनेका थियौं’ ईः भन्छन्, ‘छलफल गरेर विकल्प दिएर मात्रै यो निर्णयमा जाउँ भन्ने माग हो ।’

लिखित रूपमा राखेको प्रस्ताव समेत सुनुवाइ नभएपछि भद्र आन्दोलनका लागि मेयरको कार्यालय अगाडिको स्थान रोजेको ईः बताउँछन् ।

‘कार्यालय अगाडि नै प्ले कार्ड बोकेर बसेपछि उहाँहरूले नचाहँदा नचाहँदै पनि हेर्नै पर्‍यो, दिनमा दुई/चार पटक ओहोरदोहोर पनि गरिराख्नुभएकै हुन्छ’ ईः भन्छन्, ‘सभागृहमा पनि विभिन्न कार्यक्रमहरू भइराख्ने भएकाले मन्त्रीहरूको पनि ओहोरदोहोर भइरहेको हुन्छ, त्यसैले प्रदर्शनका लागि यो ठाउँ उपयुक्त लागेर यहीं विरोध जनाएका हौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *