जसले बिरामी हेर्दै ६ दशक बिताए

समाचार

L
३१ भदौ, काठमाडौं । बुढ्यौली छायाँमा पनि चम्किरहेको अनुहार । सेताम्य कपाल । पुष्ट शरीर, उही बैंसालु उमंग । आवाजै तन्नेरी । ८३ वर्षे स्फूर्ति ! डा. नेत्रबहादुर अमात्यको जोशलाई मान्नै पर्छ । सक्रियताको अर्को नाम डा. अमात्य भन्दा फरक पर्दैन । अहिले पनि उनी ७ बजे नै अस्पताल पुगिसक्छन् र बिरामीको सेवामा जुटिसकेका हुन्छन् ।

बुधबार बिहान शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा. अमात्यले केहीबेर आफ्ना जीवनको भोगाइ र अनुभव अनलाइनखबरसँग साटे । सोलु, नाम्चेबजारको हेल्थसेन्टरबाट २०२२ सालबाट चिकित्सा सेवा सुरु गरेका डा. अमात्यले जीवनको ६ दशक बिरामीको सेवामा व्यतीत गरिसकेका छन् ।

नेपाली चिकित्सा क्षेत्रमा रेडियोलोजिष्ट विशेषज्ञका रूपमा उनले नाम कमाएका छन् । नेपालमा पहिलो पटक रेडियोलोजी सेवामा सिटीस्क्यान, अल्ट्रासाउन्ड, एमआरआई सेवा भित्र्याउने डा. बसन्तलाल र उनी थिए । जागिरको दौरानमा स्वास्थ्य क्षेत्रको तल्लो तहदेखि वीर अस्पतालको निर्देशकसम्म भएर काम गर्ने अवसर पाए ।

सहपाठी डा. बसन्तलाल बितिसके । तर, डा. अमात्यमा युवावस्थाको भन्दा जोस, जाँगर अझै पनि कम छैन । आठ दशकको ढल्किंदो उमेरमा पनि यति सक्रिय रहनुको रहस्य के हो ? प्रश्न भुइँमा खस्न नपाउँदै उनले जवाफ फर्काइहाले- ‘अहिलेसम्म शरीर ठीक छ । राम्रोसँग काम गर्न सक्छु । सकारात्मक सोचका साथै खानपानमा ध्यान दिंदा आरामले काम गर्न सकिंदो रहेछ । अझै दुई-चार वर्ष काम गर्न सक्छु भन्ने विश्वास छ ।’

सरकारी सेवा-यात्रा

वीरगञ्जमा १९९७ सालमा जन्मेका अमात्यले २०१२ सालमा एसएलसी पास गरे । उनको पुख्र्यौली घर कुपन्डोल -ललितपुर) हो । तर, हजुरबुबा जागिरको सिलसिलामा वीरगञ्जमा बसाइँ सरेका थिए । परिवार नै शिक्षित थियो । त्यसैले, उच्च शिक्षाका लागि काठमाडौं पठाए ।

पब्लिक साइन्स कलेज (अमृत) बाट आईएस्सी अध्ययन गरेका उनी पहिलो ब्याजी हुन् । त्यसबेला त्रिभुवन विश्वविद्यालयको स्थापना भइसकेको थिएन । भारतको पटना विश्वविद्यालयबाट आईएस्सी उत्तीर्णको प्रमाणपत्र लिए । तत्कालीन समयमा दोस्रो श्रेणी ल्याउनु ठूलो कुरा थियो । त्यसबेला नेपालबाट चार जनाले दोस्रो श्रेणी ल्याउँदा उनी एक थिए ।

आईएस्सीलगत्तै स्वास्थ्य सेवा क्षेत्रमा प्रवेश गर्ने चाहनाले २०१६ सालमा उनले कोलम्बो प्लान अन्तर्गत शिक्षा मन्त्रालयको छात्रवृत्तिमा भारतको पंजाब विश्वविद्यालयमा एमबीबीएस पढ्ने अवसर प्राप्त गरे । पाँच वर्षको कोर्स पूरा गरेसँगै उनी डाक्टर बनेर निस्किए । र, जागिरको लागि स्वास्थ्य सेवा विभागमा निवेदन दिए ।

त्यसबेला थोरै जनशक्तिमा चलिरहेको स्वास्थ्य क्षेत्रमा कोही आए स्थायी जागिरको प्रमाणपत्र थमाएर खाली भएको ठाउँमा पठाइहाल्ने गरिन्थ्यो । उनको पहिलो सरकारी सेवा २०२२ साल कात्तिकमा सोलुको नाम्चेबजार हेल्थसेन्टरबाट सुरु भयो । त्यसबेला उनी १५ दिन हिंडेर नाम्चे पुगेका थिए ।

‘नेपालमा डाक्टर तथा स्वास्थ्य सेवा पनि हुन्छ भन्ने त्यहाँको नागरिकलाई थाहा थिएन । बिरामी पर्दा त्यसबेला धाँमी, झाँक्री लगाउने प्रचलन थियो’ डा. अमात्यले ती दिन सम्भिmए, ‘हामीले काठमाडौंबाट औषधि बोकेर लगेका थियौं ।’

परिवार नै नेपाली कांग्रेसको अनुयायी । नाम्चे पुगेको एक वर्ष नपुग्दै बुबा तेजबहादुर अमात्य -शहीद) को मृत्युको खबर १४ दिनपछि थाहा भयो । पञ्चायतकालमा रक्सौलमा गोली हानी उनको हत्या गरिएको थियो ।

त्यसबेला गृह मन्त्रालय अन्तर्गत भारतको वायरलेस नाम्चेबजारमा राखिएको थियो । सैनिक हेलिकोप्टरमा फर्किएर काजकिरिया पुनः सुरु गरेको उनी बताउँछन् ।

सरकारले २०२३ सालमा वीर अस्पतालमा खटायो । त्यसबेला टेकु अस्पताल वीर अस्पतालको सरुवा रोग शाखाको रूपमा थियो । वीरमा मेडिकल अफिसर ६/७ जना थिए । टेकुमा हरेक दिन एक जना डाक्टर आएर सेवा दिन्थे ।

उनी कतिपय यस्ता बस्तीमा पुगेका छन्, जहाँका मानिसले जीवनमा डाक्टर देखेका थिएनन् । उनले सल्यान, गोरखा, झापा, पोखरा हेल्थसेन्टर लगायत सयौं ठाउँमा स्वास्थ्य सेवा दिए । हेल्थसेन्टरको प्रमुख भएर काम गरे । हेल्थसेन्टरबाट नै विकट गाउँ-गाउँमा औषधि बोकेर क्याम्प चलाए ।

२०३२ सालमा शिक्षा मन्त्रालयकै छात्रवृत्तिमा बेलायत जाने अर्को मौका पाए । ‘त्यसबेला अहिले जस्तो रोजेर पढ्न पाइँदैनथ्यो । सरकारले जुन विषय पढ् भन्यो त्यही पढ्नुपथ्र्यो’, डा. अमात्य भन्छन् ।
सरकारले रेडियोलोजी पढ्न बेलायत पठायो । उनले त्यसैमा विशेषज्ञता हासिल गरे । अध्ययनको क्रममा उनले जागिर पनि पाए । दुई छोरा र श्रीमती बेलायत लैजाने अवसर जुर्‍यो ।

‘त्यसबेला बेलायत बस्न मन लागेन । सायद, देशभक्ति भावना आएको हुनुपर्छ । मसँग गएका केही साथीहरू बेलायतमै छन्’, उनी भन्छन् । रेडियोलोजिष्ट बनेर नेपाल फर्किएपछि सुरुमा उनलाई कोशी अञ्चल अस्पताल खटाइयो । त्यहाँ उनले करिब एक वर्ष जति काम गरे ।

भारत सरकारको सहयोगमा सिटी स्क्यान, अल्ट्रासाउन्ड लगायत मेसिन प्राप्त भएको थियो । सरकारले सेवा सुरु गर्न जनशक्ति खोजी गर्‍यो । २०३९ सालबाट डा. अमात्यकै नेतृत्वले वीर अस्पतालबाट रेजियोलोजी सेवा सुरु गर्‍यो ।

रेडियोलोजिष्ट भएर वीर अस्पतालमा मात्रै १८ वर्ष काम गरे । त्यसक्रममा दुई पटक निर्देशकको भूमिका पनि निर्वाह गरिसकेका छन् । सरकारी सेवाबाट पनि अवकाश भएको २२ वर्ष बितिसकेको छ । अवकाश पछि उनले एक दशक नेपाल मेडिकल कलेजमा अध्यापन समेत गरे ।

वीर अस्पतालमा रेडियोलोजी सेवा लिन महिनौं पालो कुर्नुपर्ने हुन्थ्यो । त्यसबेला कतै पनि सेवा उपलब्ध थिएन । उनी एक्लै खट्थे ।

नेपालमा रेजियोलोजी सेवाका बारेमा अधिकांशलाई ज्ञानै थिएन । ‘मैले रेडियोलोजी विषय पढेर आएँ भन्दा धेरैले मेरो रेडियो बनाइदिनु भन्थे’ डा. अमात्य ती दिनको अनुभव सुनाउँदै भन्छन्, ‘अहिले नेपालमा रेडियोलोजी पहिलो रोजाइको विधा बनेको छ ।’

सरकारले लगानी गरेर पढाएकोले शरीरमा तागत भएसम्म त्यसको प्रतिफल दिइरहेको उनी बताउँछन् । इमानदारीपूर्वक नै काम गर्नुलाई उनी समाजसेवा र देशसेवा ठान्छन् । उनी यस्तो सेवा आफ्नो पुस्तामा मात्रै देख्छन् ।

तर, अहिलेको पढाइमा करोडौं खर्च गर्नुपर्दा स्वास्थ्य सेवा महँगो बन्दै छ । जसले व्यापारीकरण ल्याएको उनको बुझाइ छ । ‘चिकित्सा शिक्षाको पढाइले आकाश छोयो । त्यो शुल्क उठाउन पनि चिकित्सकलाई बाध्यता छ ।

फेरि अबौं लगानी गरेर निजी अस्पताल खुलेका छन् । उनीहरूलाई पनि लगानी उठाउनुपर्‍यो’ डा. अमात्य भन्छन्, ‘चिकित्सकले रकम उठाउन अनावश्यक परीक्षण गर्न लगाउनेदेखि औषधि चलाउने परिपाटी बस्यो । यसबाट विपन्नहरू झन् मारमा परेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *