एउटा इतिहास, जो लेखिएन

समाचार

११ वर्षअघि । छिरिङ रितार शेर्पाको सिनेमा ‘उमा’ को स्पेशल प्रिभ्युका लागि हामी बानेश्वरमा थियौं । नागरिक दैनिकमा मेरा पूर्वसम्पादक नारायण वाग्लेले फिल्म सुरु हुनुअघिको समयमा कानमा खुसखुस गरे- सुवास नेम्वाङको किताब लेख्नुपर्‍यो ।

पहिलो संविधानसभा विना संविधान अस्ताएको थियो । वाग्ले संविधानसभा किन असफल भयो भन्ने गहिराइसम्म गएर खोज्न चाहन्थे । ठमेलको हिमालयन जाभा कफी सपमा वाग्ले, नेम्वाङ र मैले भेट्यौं ।

नेम्वाङ क्यापुचिनो खान तयार थिए, किताब लेख्न तयार थिएनन् । जनआन्दोलन र क्रान्तिहरुबाट थालेको संविधानको मिसनमा असफल भइयो भनेर लामो व्याख्या किन गरिराख्नु भन्नेमा उनी थिए । जनआन्दोलनपछि षड्यन्त्रमुलक ढंगले धर्मनिरपेक्षता घोषणा गरेको भन्दै उनीमाथि निरन्तर आक्रमण भइरहेको थियो । जबकि त्यो गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषद्बाट प्रष्टै निर्णय भएर संसदमा आएको थियो । नेम्वाङ भने आफूलाई तारो बनाएर रातभरि फोन आउने गरेको भन्दै मोबाइल देखाइरहेका थिए, जहाँ ‘नउठाउने’ भनेर सेभ गरिएका दर्जनौं फोन नम्बर थिए । सबैजसो नम्बर विदेशका ।

वाग्लेले उनलाई यस्तरी मख्खै पारेर मनाइदिए कि जाभाको सोफाबाट उठ्ने बेलामा नेपालयबाट पुस्तक आउने समझदारी बन्यो । वाग्लेको ध्याउन्न चाहिँ उनको सारा जीवनी संस्मरण लेख्दै संविधान निर्माण प्रक्रियाको आरोहण अवरोहणको गुदीतर्फ छिर्नेमा थियो ।

त्यसै समझदारी बमोजिम नेम्वाङसँग किताब लेखन, सम्पादनमा म सहभागी हुने भएँ । उनीसँग अनामनगरमा नियमित भेट हुन थाल्यो ।

आफ्नै जिल्ला र क्षेत्रबाट चुनाव जित्दै आएका सांसद भए पनि त्यस बेलासम्म नेम्वाङ र यो लेखकबीच औपचारिक किसिमको सम्बन्ध मात्रै थियो । पायोनियर ल एसोसियट्सको माथिल्लो तलामा उनी र म लगालग भेट्न थाल्यौं । मैले हरेक अढाई–तीन घन्टाका छलफलका क्रममा लामा–लामा रेकर्डहरु तयार पार्न थालें । आफ्नो व्यक्तिगत जीवनबारे फिटिक्कै नखुल्ने नेम्वाङ अब यस क्रममा मज्जैले बोल्ने अवस्थामा थिए ।

उनले परिवार, इष्टमित्र, बाबु–छोराको सम्बन्ध, सिन्धुलीदेखि तौलिहवासम्म न्यायाधीश बुवा रामबहादुर नेम्वाङसँग साथ लागेर पढ्न गएका क्षणहरु, इलाम क्याम्पस पढ्दा फुटबल टिमको क्याप्टेन भएको, माइबेनी मेला भर्न जाँदाका अतिप्रिय क्षणहरु, नेपाल ल क्याम्पसमा पढ्दा गायक बन्दाका दिनहरु, साहित्य गोष्ठीहरुमा मन्जुल, सन्जय थापा, मोदनाथ प्रश्रितहरुसँग हिँड्न थालेको जस्ता क्षणहरु सुनाउँदै गए ।

पछिल्ला दिनहरुमा नेम्वाङ संसदमा रास्वपा सांसदहरुले गर्न खोजेको मिहिनेतको प्रशंसा गर्थे । जुनसुकै दलबाट चुनाव जितेका सांसद भए पनि संसदीय विधि, प्रक्रिया बुझाउन उनी अग्रसर हुन्थे । संसदमा अवरोध वा कुनै अप्ठेरो पर्दा पूर्वसभामुखहरु ओनसरी घर्ती, कृष्णबहादुर महराले नेम्वाङसँग छलफल गर्ने गरेको देखिन्थ्यो ।

यी त पछिका कुरा भए । अगाडिका दिनहरु बारे कुरा हुँदै जाँदा कुरो संविधान निर्माणको पृष्ठभूमितर्फ अघि बढ्थ्यो । संविधान निर्माणसँग जोडिएका राजनीतिक मुद्दामा घटना विवरणहरु बताउँदा भने नेम्वाङ निराश सुनिन्थे ।

माओवादीले अन्तिम समयमा सावधानी अपनाउन नसक्दा संविधानसभा डुबेको नेम्वाङको निष्कर्ष थियो । देश भित्र–बाहिरका देखिने/नदेखिने तत्वहरुले नेपालमा संविधानसभाको दोस्रो चुनाव हुन दिन्छन् जस्तो उनलाई लागेको थिएन । मैले थाहा पाएसम्म नेम्वाङ दिक्दार बनेको क्षण त्यही एउटा थियो । नत्र उनी सधैं हँसमुख, सधैं उत्साही । आफ्नो उत्साहलाई अनुहारमा व्यक्त हुन भने नदिने । उनी फुरुङ्ग परेको थाहा पाउन पनि समय लाग्ने, रिसाएको थाहा पाउन पनि समय लाग्ने ।

पत्रकारलाई आलोचना गर्नुपर्यो भने उनी कता–कताबाट कुरो घुमाएर हैरान बनाउँथे । एक दिन सिंहदरबारको सभामुख कक्षमा हामी केही पत्रकार बसिरहेका थियौं । उनले अखबारमा छापिएको एउटा कार्टुनबारे कुरा गरे । आफूलाई संविधानको गतिनिरोधक देखाउने कार्टुनिस्ट चाहिँ को रहेछन् भनी सोधे । मैले कत्ति न जान्ने भएर कार्टुनिस्ट र पत्रिकाबारे भन्दिएको । सारा मानिस हाँस्न थाले । नेम्वाङले सम्बन्धित पत्रिकाकै पत्रकारको मुखबाट त्यसो भनाउन कुटिलता मात्रै देखाएका थिए । उनको बानीसँग पत्रकार पनि बानी परिसकेका थिए ।

किताबका लागि भेटघाट नियमित चल्दै गए । नेम्वाङ कति कुरा बताउन नपरे हुन्थ्यो भन्ठान्थे । कति कुरा चाहिँ नलेख्नू भन्दै सुनाउँथे । भेटघाटहरुकै बीच एउटा यस्तो दिन आयो, जहाँ नेम्वाङ सधैंका लागि रोकिए । अर्थात् संविधानसभाको दोस्रो चुनाव हुने तिथि पक्का भएपछि उनी बाँकी कुरा चुनावपछि गरौं भन्न थाले । उनको धेरैजसो समय इलाममा बित्न थाल्यो ।

यो पनि पढ्नुहोस
सहमति र सहकार्यका प्रवक्ता थिए नेम्वाङ
नेम्वाङले फेरि पनि चुनाव जिते । उनले निर्वाचन क्षेत्रमा सधैं जिते । फेरि पनि सर्वसम्मत सभामुख र संविधानसभा अध्यक्ष बने । हाम्रो भेटघाट बेलाबखत हुँदै रह्यो । तर त्यो बीचको अवधिमा उनी किताबबारे कुरा गर्न तयार भएनन् । ‘मैले सारा कुरा बताउन थालें भने यो प्रक्रिया नै भाँडिन्छ, पछि गरौं’ भन्न थाले ।

नेम्वाङ आफैंले आधा लेखेर छाडेको संविधानको किताब दोस्रो प्रयासमा लेखिछाडे । मैले भने उनीबारे आधा लेखिछाडेको किताब सधैंलाई अधुरो रहने भयो ।
मैले बीचमा धेरथोर जोड गरे पनि संविधानसभा अध्यक्षका रुपमा नेम्वाङको बाध्यता बुझ्न सकिन्थ्यो । किताब पछिलाई थाँती रहने भयो । नेम्वाङ नेपालको परिवर्तन संस्थागत गर्ने मूल किताब अर्थात् संविधान लेखनमा सक्रिय भए ।

०७२ असोजमा त्यो संविधान जारी हुने भयो । तत्कालीन राष्ट्रपति रामबरण यादव अनि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासँग त्यसबेला संविधानसभा अध्यक्ष नेम्वाङले बेहोरेका उतारचढावबारे समय क्रममा कुरा हुँदै जाला । अहिले सक्रिय रहेका नेताहरुले यसबारे बोल्न चाहे भने धेरै कुरा भन्न सक्छन् । सारमा भन्नुपर्दा, यादवले संविधान जारी गर्न बानेश्वर भवनमा नआए के गर्ने भन्ने विकल्पमा समेत नेम्वाङ तयार भइसकेका थिए ।

यी परिदृश्यबारे सांगोपांग किताब भने बाहिर आउन पाएन । सुरुमा उनी व्यस्त रहे, पछि म । बीचमा केही समय यस्सै बितेर गए ।

एक दिन नेम्वाङको फोन आयो, ‘भान्जाहरु किताब लेख्ने भन्दै आएका छन् । पहिलाको बाँकी काम अब सक्ने हो ?’

नेम्वाङले भान्जा भनेका व्यक्ति इलाम चुलाचुलीका लेखक सुन्दर कुरुप हुन्, जसले आफैं प्रकाशक बनेर उनको आत्मकथा छपाउन चाहेका थिए । त्यस क्रममा नेम्वाङले पुरानो कुरा सम्झे ।

‘यो त नेपालयले छाप्ने सम्झौता भइसकेको छ, अरुबाट गर्न मिल्दैन,’ मैले भनें ।

नेम्वाङ त्यहीँ रोकिए । कुनै बेला यो काम टुंग्याउनुपर्छ भन्ने थियो । नेम्वाङ, नारायण वाग्ले र म बसेर गरेको कफीगफको योजना साकार हुन पाएन । संविधान निर्माण क्रममा नेम्वाङले देखेभोगेका दृश्यहरुमध्ये कतिपय रेकर्डमा छन्, कति त आउनै बाँकी रहे । यो रहर आधाआधीमै रह्यो ।

नेम्वाङ आफैंले आधा लेखेर छाडेको संविधानको किताब दोस्रो प्रयासमा लेखिछाडे । मैले भने उनीबारे आधा लेखिछाडेको किताब सधैंलाई अधुरो रहने भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *