चीनमा आइफोन प्रतिबन्ध, एप्पलले २ दिनमै गुमायो २ खर्ब डलर

Business

चीनमा सरकारी कर्मचारीहरुलाई आइफोन प्रयोगमा प्रतिबन्ध लगाइएको समाचार सार्वजनिक भएसँगै एप्पलको शेयरमा भारी गिरावट आएको छ ।पछिल्ला दुई दिनमा एप्पलको शेयर बजार मूल्यमा ६ प्रतिशतले गिरावट आएको छ । यो सँगै एप्पलले दुई दिनमै २ खर्ब डलर गुमाउन पुगेको छ ।एप्पलका लागि चीन तेस्रो ठूलो बजार हो र गतवर्ष एप्पलले कूल आम्दानीको १८ प्रतिशत चीनबाटै गरेको थियो ।

साथै एप्पलको सबैभन्दा ठूलो आपूर्तिकर्ता रहेको फक्सकन कम्पनीले सबैभन्दा धेरै उत्पादन चीनमै गर्ने गरेको छ ।

वालस्ट्रिट जर्नलले बुधबार प्रकाशित गरेको समाचार अनुसार चीनले आफ्ना केन्द्रीय सरकारी निकायका कर्मचारीलाई कार्यालयमा आउँदा आइफोन नबोक्न तथा प्रयोग नगर्न निर्देशन दिएको थियो ।

ब्लुम्बर्गका अनुसार यस्तो प्रतिबन्ध केवल केन्द्रीय सरकारी निकायहरुमा मात्र नभई सरकारी स्वामित्वका कम्पनी तथा सरकार समर्थित एजेन्सीहरुमा पनि लागू हुनेछ ।

वालस्ट्रिट जर्नलका अनुसार हालैका हप्ताहरुमा सरकारी कर्मचारीहरुलाई उनीहरुको कार्यालयमा सुपरीवेक्षकहरुबाट आइफोन प्रयोग नगर्ने निर्देशन भएको छ । यस्तो बन्देज आइफोनसँगै अन्य विदेशी ब्राण्डका डिभाइसहरुमा पनि लागू गरिएको बताइएको छ ।

चीनमा कतिपय एजेन्सीहरुमा यसअघिबाटै आइफोन प्रयोगमा बन्देज लगाइएको भएपनि हाल यसलाई विस्तार मात्रै गरिएको दाबी वालस्ट्रिट जर्नलको छ ।

सेप्टेम्बर १२ मा आइफोन १५ सिरिज लञ्च हुनु अगाडि यो समाचार सार्वजनिक भएको थियो ।चीनका सरकारी कम्पनीहरुमा कार्यरत कतिपय चिनिया सोसल मिडिया प्रयोगकर्ताले आफूहरुलाई सेप्टेम्बरको अन्त्यबाट कार्यालयमा एप्पल डिभाइस प्रयोग नगर्न निर्देशन दिइएको बताएका छन् ।

यद्यपि सरकारी निकायमा एप्पलका प्रडक्ट प्रयोग नगर्न निर्देशन दिइएको समाचारका विषयमा चीन सरकारले आधिकारिक रुपमा कुनै प्रतिक्रिया जनाएको छैन । साथै एप्पलले पनि यस बारेमा केही बताएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *