सारुकको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्दै कलाकारले ज्ञानेश्वरमा प्रदर्शन गर्ने

समाचार

काठमाडौं । दिवंगत अभिनेता सारुक ताम्राकारको मृत्युको निष्पक्ष अनुसन्धान गर्नुपर्ने भन्दै कलाकारहरुले शनिबार ज्ञानेश्वरमा प्रदर्शन गर्ने भएका छन् । ‘जस्टिस फर सारुक’ नारासहित उनीहरुले प्रदर्शन गर्न लागेका हुन् ।

पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठसहित सारुकका आफन्तले प्रदर्शनको आह्वान गरेका हुन् । तर सृष्टि चाहिं भेनिस फिल्म फेस्टिभलमा प्रिमियर हुन लागेको फिल्म ‘रेड सुटकेस’का लागि युरोप पुगेकी छन् । अहिले लण्डनमा रहेकी उनले त्यहींबाट फेसबुकमार्फत प्रदर्शन आह्वान गरेकी हुन् ।

सारुकले न्याय पाउनुपर्ने, न्यायका लागि एक हुनुपर्ने, मृत्युको कारण सार्वजनिक हुनुपर्ने, घटना पारदर्शी हुनुपर्ने मागसहित प्रदर्शन गर्न लागिएको जारी वक्तव्यमा उल्लेख छ । प्रदर्शनकारीले प्रदर्शन शान्तिपूर्ण हुने जनाएका छन् ।

सोमबार बेलुका सारुककी आमा रुक्मिणीले फेसबुकमार्फत छोराको मृत्युको निष्पक्ष छानबिन हुनुपर्ने र यथार्थ बाहिर आउनुपर्ने बताएकी थिइन् । सारुकको फोन डिटेल्सलाई पनि बाहिर ल्याउन उनले प्रहरी प्रशासनलाई अनुरोध गरेकी थिइन् । सारुकको मृत्युको झण्डै डेढ महिनापछि हालै बुवा तथा अभिनेता सानु ताम्राकारको पनि निधन भएको थियो ।

सारुकको मृत्युको यथार्थ सार्वजनिक गर्नुपर्ने माग राख्दै चलचित्र कलाकार संघले पनि प्रहरीसामु निवेदन दिइसकेको छ । अध्यक्ष मोहन निरौलाले यसबारे आफूहरुले प्रहरीलाई अनुसन्धानलाई दबाब दिइराख्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *