मेलम्चीको हेडवर्क्स फेरि पुरिदियो बाढीले, काठमाडौं पानी आउने अनिश्चित

समाचार

मेलम्ची खानेपानीको मुख्य बाँध क्षेत्र (हेडवर्क्स) बाढीले पुरिएको छ। बाढीले सुरूङलगायत संरचना पुरेकाले वर्षालगत्तै पठाउने भनिएको पानी अनिश्चित बनेको छ।

साउन २८ र २९ गते आएको बाढीले बाँध क्षेत्र पुरेको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताए।

अघिल्ला दुई वर्ष पुरिएको बाँध क्षेत्र खोतलेर पानी पथान्तरण गरिएको थियो ।

गत वर्ष अस्थायी तवरले पानी पथान्तरण गर्न झन्डै २० करोड रुपैयाँ खर्च भएको मेलम्ची खानेपानी आयोजनाले बताएको थियो।

यसवर्ष बाँध क्षेत्रको १ र ९ नम्बरमा हाइड्रोलिक उपकरण राखेर बाढी छेक्ने प्रबन्ध मिलाइएको थियो। तर, साउन २८ र २९ गते आएको बाढीले १ र ९ नम्बर गेट पुरेको पन्तले जानकारी दिए।

‘हामीले यस वर्ष १ र ९ नम्बर गेटमा हाइड्रोलिक उपकरण राखेका थियौं। सुरूङभित्र गेग्रान, थेग्रिनी छिर्न नपाओस् भनेर बन्दोवस्त मिलाएका थियौं। तर, ठूल्ठूला ढुंगासहितको बाढीले सबै संरचना पुरेको छ,’ उनले भने।

उनले १ र ९ नम्बर गेटको बीचको २५० मिटर सुरूङभित्र पनि ढुंगा–गेग्रान पसेको अनुमान गरे।

‘सुरूङभित्र ढुंगा–गेग्रान छिरेको रहेछ भने त पानी ल्याउन अझै विलम्ब हुन्छ,’ उनले भने।

वर्षा सकिएपछि मात्रै पहुँच मार्ग बनाउने र हेडवर्क्स सफा गरिने भएकाले पानी पथान्तर अनिश्चित बनेको पन्तले बताए।

काठमाडौं पानी पथान्तरण गर्ने योजना २०५२ सालदेखि सुरू भएको हो। २०५२ सालमा मेलम्ची खानेपानी लिमिटेडको स्थापना भयो। २०५५ सालदेखि परियोजनाको सुरूआत भए पनि भौतिक निर्माणको काम २०५८/०५९ देखि भएको हो।

अहिलेसम्म सुरूङ बनाउन ३१ अर्ब रूपैयाँभन्दा बढी खर्च भइसकेको छ।

त्यस्तै, काठमाडौं उपत्यकामा खानेपानीको सञ्जाल विस्तार गर्न मेलम्चीको उपआयोजना पनि सञ्चालित छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिडिआई)मार्फत् कार्यान्वयन भइरहेको उपआयोजनाले पनि ३२ अर्ब रुपैयाँ खर्च गरिसकेको छ।

बर्सेनि बाढीको चपेटामा पर्दा मेलम्ची खानेपानी परियोजना नै अनिश्चित बनेको छ।

एसियाली विकास बैंक (एडिबी)को ऋण लगानीमा मेलम्ची खानेपानी परियोजना सञ्चालित छ। सुरूङ बनाउन उसको २० अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ।

पहिराको जोखिम रहेकाले एडिबीले बाँध क्षेत्र सार्न प्रारम्भिक सुझाव दिएको छ। यद्यपि, एडिबीले यसबारे विस्तृत अध्ययन भने गरिसकेको छैन।

असार १ गते भ्रेमथाङबाट उत्पत्ति भएको भेलबाढीले मेलम्ची परियोजनाको बाँध क्षेत्रसहित तल्लो तटीय क्षेत्र तहसनहस बनाएको थियो।

अहिले पनि भ्रेमथाङको पहिरोबारे अध्ययन र रोकथामका लागि कुनै प्रयास नथालिएकाले मेलम्ची परियोजनाको भविष्य अनिश्चित रहेको विज्ञहरूको भनाइ छ।

ग्याल्थुम बजार नै जोखिममा
गत भदौ ८ गते मेलम्ची नदीले धार परिवर्तन गर्दा हेलम्बु गाउँपालिका-४ को सरस्वती माध्यामिक विद्यालयको पक्की भवन बगाएको थियो। बाढीले ग्याल्थुम बजार नै जोखिममा रहेको र नदीले कटान गरिरहेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए।

‘गाउँपालिकाको आफ्नो बजेटले जेनतेन तटबन्ध गरेर अहिलेसम्म बजार जोगाएका छौं। विद्यालय जोगाउन सकेनौं,’ उनले भने।

उनले मेलम्ची पुलबजारदेखि ग्याल्थुम अडिट हुँदै हेडवर्क्ससम्म पुग्ने १८ किलोमिटर बाटोमध्ये अधिकांश कटान भएको बताए।
अघिल्लो वर्षको तुलनामा यसवर्ष बाढीले अझ बढी कटान गरेको उनको भनाइ छ।

‘सरकारलाई मेलम्ची खानेपानी परियोजनाको मात्रै चिन्ता छ। यहाँको पुनःनिर्माणको चासो छैन। अहिले जेनतेन गाउँपालिका कार्यालय रहेको चनौटे बजारसम्म गाडी पुग्छ,’ उनले भने, ‘हेडवर्क्ससम्म पुग्ने तीन किलोमिटर बाटो बगर बनेको छ।’

उनले कुटुम्साङ हुँदै जाने बाटो पनि बिग्रिएको बताए।

‘यसपटक हामी पानी पथान्तरण हुन दिँदैनौं’
गाउँपालिका अध्यक्ष शेर्पाले यसपटक पानी पथान्तरण हुन नदिने बताए।

असार २ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मेलम्ची आयोजनाको बाँध क्षेत्र, अम्बाथान पुगेका थिए।

स्थलमार्ग हुँदै बाँध क्षेत्र पुगेर बाटोको दुरावस्थाकै कारण हेलिकप्टरमा फर्किएका उनले पहुँचमार्ग बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

तर, एक रुपैयाँ पनि बजेट नराखिएको उनले बताए।

‘जो प्रधानमन्त्री आए पनि प्रतिबद्धताचाहिँ व्यक्त गर्नुहुन्छ। तर, पूरा हुँदैन। २०७८ असार १, साउन १६ र १७ गते बाढी गयो। त्यो वर्ष गाउँपालिकाले झन्डै ७ करोड खर्च गरेर बाटो जोड्ने काम गर्‍यौं। आयोजनाले १ करोड रुपैयाँभन्दा दिएन,’ उनले गुनासो गरे।

उनले मेलम्ची पुलबजारदेखि अम्बाथानसम्म पुग्ने बाटो, तटीय क्षेत्रको पुनःनिर्माणमा प्रतिबद्धता नआए पानी लैजान नदिने बताए।

‘काठमाडौंको आँखाबाट हेरेर हुँदैन। बाढीले बगर बनाएको हेलम्बु, मेलम्ची क्षेत्र पनि हेर्नुपर्‍यो। हामीले अहिलेसम्म काठमाडौंलाई सघाएका हौं। अब सक्दैनौं,’ उनले भने।

गाउँपालिका अध्यक्ष शेर्पाले बाढीले तिम्बु, हल्दे, चिउरीखर्क, किउल बगर, गणेश बगर, चनौटे, ग्याल्थुम, पाल्चोक बेँसीलगायत हेलम्बु क्षेत्रमा मात्रै ३ सय ९ वटा घरमा क्षति पुर्‍याएको बताए।

बाढीले ट्राउट माछाका दस वटा फार्मसहित १ हजार ८ सय ७३ रोपनी खेतीयोग्य जमिन बगाउँदा अहिलेसम्म संघीय सरकारबाट केही नपाएको गुनासो गरे। ३ सय ९ परिवार घरबारविहीन भएको र उनीहरूलाई सरकारले पाँच लाख रूपैयाँ उपलब्ध गराउने भने पनि त्यतिमा घर नबन्ने पनि उनले बताए। सरकारले कम्तीमा पनि प्रतिपरिवार १५ लाख रुपैयाँ उपलब्ध गराउनुपर्ने उनले बताए।

‘बाढीले २४ जनालाई बगायो। तीन जना चिनियाँ, तीन जना भारतीय र बाँकी नेपाली छन्। १५ जना नेपाली र पाँच जना विदेशी अझै बेपत्ता छन्। छ वटा मोटरेबल र सात वटा झोलुंगे पुल बगायो,’ उनले भने, ‘तर संघीय र प्रदेश सरकारबाट केही सहयोग भएन। संघ सरकारकै पहलमा चनौटे र किउल जोड्ने रातोपुलमा बेलिब्रिज बन्नेबाहेक केही पुनः निर्माण हुन सकेको छैन।’

मेलम्चीसँगै याङ्ग्री र लार्के खोलाको पानी काठमाडौं ल्याउने सरकारको योजना छ। मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी ल्याउने र यसले मात्रै काठमाडौंको माग धान्न नसक्ने हुँदा याङ्ग्री र लार्के खोलाबाट पनि दैनिक १७ करोड लिटर पानी थप्ने योजना थियो।

याङ्ग्री र लार्के खोला पुग्न अहिले बाटोको ट्र्याक खोल्ने काम मात्रै भएको परियोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताए।

असार २ गते अम्बाथान पुगेका प्रधानमन्त्री प्रचण्डले सरकारले याङ्ग्री र लार्के खोलाबाट पानी ल्याउने दोस्रो चरणको परियोजना तदारूकताका साथ अघि बढाउने बताएका थिए।

‘याङ्ग्री र लार्के दोस्रो फेज अगाडि बढाउन त्यत्तिकै तदारूकताका काम गर्नुपर्ने आवश्यकता छ। सरकारका तर्फबाट त्यसलाई अगाडि बढाउने कुरालाई उच्च प्राथमिकता दिनुपर्ने छ,’ उनले भनेका थिए।

बाढीले मेलम्ची खानेपानीकै भविष्य अनिश्चित बनाएकाले दोस्रो चरणको याङ्ग्री र लार्के परियोजना झन् अन्यौलपूर्ण बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *