आगो छ भन्दैमा कहाँ–कहाँ सल्काउन जाने मेयर सा’ब ?

समाचार

टिप्पणी :
आगो छ भन्दैमा कहाँ–कहाँ सल्काउन जाने मेयर सा’ब ?

काठमाडौं महानगरपालिकासँग केही दमकल छन्। तिनको काम हो- कतै आगलागी भइहाले सक्दो छिटो निभाउने। तर आगो निभाउने दमकलको चाबी हातमा लिएका काठमाडौं महानगरका प्रमुख बालेन शाहले देशको संघीय प्रशासनिक केन्द्र सिंहदरबारमा आगो लगाउने धम्की दिएका छन्।

आगो निभाउने भूमिकामा रहेका महानगर प्रमुखको सिंहदरबारमा आगो लगाउने धम्की र संघीय सरकारलाई सार्वजनिक रूपमा ‘चोर’ को संज्ञा दिने अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा बहस गर्मिएको छ।

मेयर शाहको आक्रोश उम्लने अभिव्यक्तिको पृष्ठभूमि हेरौं।

शनिबार राति करिब ८:५० बजे। सरकारी नम्बर प्लेटको गाडी ललितपुरको बालकुमारीतर्फबाट कोटेश्वर चोकतिर आइरहेको थियो। ड्युटीमा रहेका ट्राफिक प्रहरीले बिदाको दिन राति चलेको सरकारी नम्बर प्लेटको गाडीलाई रोकेर सोधपुछ गरे।

प्रहरी अधिकारीहरूका अनुसार चालकलाई सोधिएको थियो ‘बिदाको दिन कहाँबाट आउनुभयो ?’

चालक : ‘मेयर सापको हो, मेडम हुनुहुन्छ।’

‘ल ठिक छ, पास बोकेर हिंड्नुस् है’, भन्दै प्रहरीले छाडिदियो।

डेढ-दुई मिनेटको जाँचलगत्तै मेयर शाहले फेसबुकमा उत्तेजक अभिव्यक्ति सम्प्रेषण गरे। साथै, उनले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरी आक्रोश पोखे।

त्यस बेला बालेनमा पारस शाहको झल्को आइरहेको थियो।

लामो समय नेपालमा राजतन्त्र थियो। अन्तिम राजा ज्ञानेन्द्र शाहका छोरा पारस शाह अन्तिम राजकुमार थिए। राजतन्त्रको अन्त्यपछि पारस पूर्वराजकुमारमा सीमित भइसकेका थिए। उनीमाथि ड्युटीमा रहेका प्रहरीले रोकेर जाँच गरे जुन उनीहरूको घोषित दायित्व हो।

तर, कुनै बेला देशको कानुन र संविधानमाथि रहेर ‘प्रजा’माथि शासन गरेका पूर्वराजकुमारलाई प्रहरी जाँच पचेन। उनले भने, ‘जाँच अघि तिमीहरूले म को हुँ भन्ने चिन्नुपर्छ/जान्नुपर्छ।’

देशमा लोकतन्त्र आएको धेरै भइसकेको छ। यसबीचमा बागमतीमा धेरै पानी बगिसकेको छ। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछि दोस्रो स्थानीय तहको निर्वाचनबाट काठमाडौं महानगरका जननिर्वाचित प्रमुख हुन्- बालेन शाह।

बालेन कुनै शासकका टिके नगरप्रमुख होइनन् किनकि नेपालमा अहिले राजाको शासन छैन। यसको अर्थ उनी महत्वपूर्ण जिम्मेवारीमा छन्। नागरिकले मतमार्फत गरेको विद्रोहको प्रतीक हुन् उनी। यो अर्थमा उनी बहुसंख्यक काठमाडौंवासीका आशा र भरोसाका केन्द्र हुन्।

सिंहदरबारका धेरै समस्या छन्। बालेनलाई मात्र होइन, सिंहदरबार र यसका मातहत निकायबाट सेवा पाउन नसकेका लाखौं नेपालीलाई यससँग रिस छ। मनभित्र रिसको आगो बोकेर पनि विधिको शासनलाई मान्दै करोडौं नेपालीले सिंहदरबार पालेर बसेका छन्। र, उनीहरूले पाँच वर्ष कुरेर मतमार्फत सिंहदरबारदेखि गाउँघरका सिंहदरबारसम्म नयाँ प्रतिनिधि चुन्न थालेका छन्।

यो यही देश हो, जहाँ सवारी साधन कुर्दाकुर्दै समयमा उपचार नपाएर श्रीमतीको मृत्यु हुँदा पनि पत्नी शोकमा रहेको पतिले स्थानीय सिंहदरबार जलाउने कुरा गर्दैन। तर बिदाको दिन राति महानगरको सवारी साधन निजी प्रयोजनमा प्रयोग गरिरहेकी आफ्नी पत्नीलाई प्रहरीले जाँच गर्दा बालेनले सिंहदरबार जलाउने अपत्यारिलो अभिव्यक्ति दिनु र आक्रोश पोख्नु अनपेक्षित छ।

जति उपल्लो पद, उति उपल्लो जवाफदेही विधिको शासनको सामान्य नियम हो। जीवनमा संयम गुमाउन सक्ने अप्ठ्यारो सबैलाई पर्छ। तर बालेनलाई परेको संयम गुमाउने परिस्थिति के हो ?

नेपालमा ट्राफिक प्रहरीको व्यवहारमाथि प्रश्न उठाउन मिल्ने विषय होलान्। बालेन सार्वजनिक जवाफदेहीबाट किन मुक्त छैनन् भने उनी देशको राजधानी शहरको नगरप्रमुख हुन्। यहाँ नगर प्रहरीको व्यवहार चित्त नबुझ्दा काठमाडौं महानगरवासीले कुन सिंहदरबार जलाउन जाने ? मेयर बालेनले जस्तै संयम यहाँका नागरिकले गुमाए भने स्थिति कस्तो होला ?

आइतबार अबेला नगरप्रमुखको सचिवालयले एक विज्ञप्ति जारी गर्दै घटनाबारे जवाफ दिन खोजिएको देखिन्छ। तर दुई पृष्ठ लामो विज्ञप्तिमा उनले एक शब्द पनि आफ्नो कमजोरीबारे उल्लेख गरेका छैनन् ।

राज्य स्रोत-शक्ति र परिवार

पुत्र, पुत्री र पत्नी मोहले राजनीति, समाज र देशलाई दुर्घटनामा पुर्‍याएका धेरै उदाहरण छन्। अयोध्याका राजा दशरथ रानी कैकेयीको मोहमा पर्दा राम-रावणबीचको युद्ध हुन पुगेको पौराणिक किंवदन्ती हामीले सुन्दै आएका छौं। महाभारतीय युगका राजा धृतराष्ट्रले आफ्नो पुत्र दुर्योधनप्रति मोह छोड्न नसक्दा तत्कालीन युगको महाविनाशकारी युद्ध भएको पनि पढे/सुनेकै छौं।

बैंसालु पत्नी यशोधरा र नाबालक सन्तान राहुलको मायाको बन्धन त्यागेर नै सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेका कुरा हामीले पढ्दै आएका छौं।

परिवार र राज्यको भेद छुट्याउन नसक्दाका दुर्दशा शाहवंशको शासनदेखि पछिल्ला सुनकाण्ड र भ्रष्टाचार काण्डमा पत्नी र सन्तान (नवयुवराज) हरूको लीलाबाट आम नागरिक वाक्कदिक्क छन् नै। परिवारवादका कारण सत्ता र व्यक्ति पतनका लामा फेहरिस्त पस्कन सकिन्छ।

संसारमा विधिको शासन भत्काउन सबैभन्दा जिम्मेवार भनिएका मानिसहरू नै बढी जिम्मेवार देखिंदै आएका छन्। त्यही भएर भनिएको होला- अगुवाले बाटो भुल्नुहुँदैन।

विधिको शासन पालना नगर्दा के के हुन्छ ? यसको जवाफ दिन हामी सबैले विधिको शासन मान्नुपर्छ।

बालेन शाह एक मध्यम वर्गीय परिवारबाट उदाएका हुन्। उनले पारिवारिक काममा महानगरको सवारी र अन्य साधन स्रोतको दुरुपयोग गरेको खबर पढ्नुपर्दा उनका मतदातालाई कति आघात पुग्ला ?

सरकारी सवारी साधनको दुरुपयोग नेपालमा कुनै नयाँ र समाचार बनाउन योग्य विषय नै बाँकी रहेन। यो स्तरको दुरुपयोग भइरहेको ठाउँमा बालेनकी सुत्केरी पत्नी चढेको कुरा सामान्य हो। तर यो सामान्य विषय यसकारण पहिलो होइन कि, उनी यही बेथितिको विरुद्धमा विकल्पमा विश्वास गरेर अत्यधिक बहुसंख्याले चुनेको पात्र हुन्। दोस्रो, उनले आफ्नो कमजोरीलाई अस्वीकार मात्र होइन, आदर्शीकरण गरिरहेका छन्।

एउटा चर्चित भनाइ नै छ, अवसर नपाउँदा सबै सदाचारी हुनसक्छन्, तर अवसर पाएपछि पनि स्रोत–साधनको दुरुपयोग नगर्ने मानिस मात्र सदाचारी हो।

दुःखद पक्ष त के छ भने सत्ताभोग र निजी/पारिवारिक लाभ (परिवारवाद) को अभ्यासबाट वाक्कदिक्क भएर नयाँ आशासहित विकल्प खोजेका नागरिक मेयर शाहको व्यवहारले ‘तावाको माछा भुङ्ग्रामा’ जस्ता भएका छन्।

भीडको मनोविज्ञान

अब प्रश्न उठ्न सक्छ- ट्राफिक प्रहरीले जाँच गरेको सवारी विद्यासुन्दर शाक्य वा अर्को कोहीको हुन्थ्यो भने सामाजिक सञ्जालको प्रतिक्रिया कस्तो हुन्थ्यो होला ?

जवाफ हामी सहजै अनुमान गर्न सक्छौं।

हो, सत्य सापेक्ष हुन्छ। तर यति धेरै सापेक्ष पनि हुनुहुँदैन। ‘वास्तविकता’ भन्दा ‘अवधारणा’ बलियो हुनु भ्रमपूर्ण अवस्था हो जहाँ सत्य विचलित हुन्छ।

फ्रेञ्च सामाजिक मनोवैज्ञानिक गुस्ताभ ले बनले सन् १८९५ मा ‘द क्राउडः ए स्टडी अफ द पपुलर माइन्ड’ पुस्तकमा डीइन्डिभिजुएसनको अवधारणा अगाडि सारेका छन्। उनले पुस्तकमा आवेग, चिडचिडापन, आलोचनाप्रति असहिष्णु, तार्किक क्षमताको क्षयीकरण, भावनाहरूको अतिरञ्जन लगायतलाई भीड मनोविज्ञानका विशेषताका बारे चर्चा गरेका छन्। उनका अनुसार भीडमा मानिसहरूले आफ्नो परिचय र जिम्मेवारीको भावना गुमाउँछन् र उनीहरू आवेगपूर्ण र तर्कहीन व्यवहारमा संलग्न हुने सम्भावना बढी हुन्छ।

मनोवैज्ञानिक रूपमा डीइन्डिभिजुएसनको एउटा यस्तो अवस्था हुन्छ, जहाँ व्यक्ति कुनै भीडको अभिन्न अंग बन्छ र उसले आफू स्वयं र आफ्नो जिम्मेवारी पनि भुल्न सक्छ। यस्तो अवस्थामा उसले आवेगपूर्ण र तर्कहीन काम गर्ने अधिक संभावना हुन्छ। यसले ठूलो हिंसामा योगदान गर्न सक्छ।

बालेनको हिंसात्मक र अशिष्ट अभिव्यक्ति आक्रोश पोख्ने तरिका मात्रै हो कि भीडको ध्यान खिच्ने चाहना ?

उनले स्टाटसमा लेखे जस्तै कानुनतः महानगरको सवारी साधन ट्राफिक प्रहरीले जाँच गर्न नपाउने हो ? यसको जवाफ उनले दिएका छैनन्।

नेपाली भाषामा लेखेको उनको एउटा स्टाटसले एक दिनमा झण्डै चार लाख प्रतिक्रिया, सवा लाख सवाल-जवाफ र ४१ हजारभन्दा बढी शेयर हुनु असामान्य कुरा हो। यो विशाल पंक्तिमा उनले आगो लगाउन उत्प्रेरित गरेका छन् र सरकारलाई ‘चोर’ भनेर गाली गर्न सिकाएका छन्।

भक्तहरूले भगवान बनाइदिन्छन् र आकाशमा उडाइदिन्छन्, जमिन टेक्न दिंदैनन्। बोक्न छोडेको दिन पछारिने यही जमिनमा हो।

आलोचकहरूले जमिनमै उभिन सिकाउँछन् र नेता बनाउँछन्। भुईंमा सुत्ने मानिस खाटबाट कसरी पछारिन्छ र ?

हामी नेपालमा बुद्ध जन्मिएकै आधारमा उनको मूर्ति बेचिरहेका छौं तर उनको सदाचारयुक्त व्यक्ति (इथिकल इन्डिभिजुअल) को आत्मा निकालेर।

मन्दिरै मन्दिरको शहर हो यो काठमाडौं उपत्यका। खोइ किन मन्दिर र मूर्तिहरुको भीडमा मानिसहरू अर्को एउटा भगवान खोजिरहेका छन् ? देशलाई चाहिएको त असमानता र गरिबीको दुश्चक्रबाट बाहिर निकाल्न सक्ने नेतृत्व होइन र ?

भनिन्छ- नर्क जाने बाटो कसैले पनि नियतले खन्दैन। असल नियतले मात्र राजनीति असल नहुने रहेछ भन्नलाई हामीसँग अनगिन्ती उदाहरण छन्। विधि कुल्चने एक व्यक्तिको हिरोइज्मले एकदिन हामीलाई हिटलरसँग भेटाउँछ।

पुराना दल र नेताका गतिविधिलाई ‘चोर’ भनिरहँदा बाँकी औंला प्रश्नकर्तातिर तेर्सिन्छ कि नयाँ पुस्ताले कस्तो राजनीतिक संस्कारको जग बसाल्न खोजिरहेको छ ?

कसैले भनेका छन्- सम्मानको लागि योग्य बन्नुहोस्, यसको आयु लामो हुन्छ। तर चर्चा अस्थायी यथार्थ हो। तर पनि लोकप्रियतावादीहरू देशको रणनीतिक क्षति भन्दा व्यक्तिको तत्कालीन फाइदा हेर्न छाड्दैनन् र भीडको ताली पाउने गरी नाचिरहन्छन्।

आगोको खेती

आगो सल्काउन सजिलो हुन्छ तर निभाउन गाह्रो। पक्कै पनि नागरिकको अपेक्षा हुन्छ- ‘जनताको विद्रोहका प्रतीक बालेन आगो लगाउने उपकरण होइन, आगो निभाउने दमकल लिएर स्ट्याण्डबाई बसून्।’

उनी पनि सिंहदरबार जस्तै महत्वपूर्ण अंगका प्रतिनिधि हुन्।

बालेनको यो अभिव्यक्ति कानुनी दायरामा उभ्याउन उपयुक्त भएको र राज्यको जिम्मेवारीमा रहेकाबाट यस्तो अभिव्यक्ति अपेक्षित नहुने टिप्पणी भइरहेको छ।

लोकतान्त्रिक समाजमा हिंसा भड्काउने वा प्रोत्साहन गर्ने अभिव्यक्ति कुनै शासकीय जिम्मेवारीमा रहेका महत्वपूर्ण व्यक्तिबाट आउनु थप विडम्बनापूर्ण छ।

बुद्धले भनेका छन्– अहंकार कमजोर मानिसको हतियार हो। राजनीतिशास्त्रमा सामान्य विषय हो कि अहंकारले व्यक्तिवाद हुँदै फासीवादको यात्रा गर्छ।

लोकतन्त्र त सबैलाई समान व्यवहार गर्ने यस्तो प्रणाली हो जहाँ हरेक नागरिक सार्वभौम हुन्छ, सबैको आत्मसम्मान बराबर हुन्छ। स्वतन्त्रता र समानता लोकतन्त्रका आधारभूत चरित्र हुन्। समानताको सिद्धान्तमाथि हमला अन्ततः लोकतन्त्रमाथिको हमला हो।

अहंकारले कुनै न कुनै प्रकारले व्यक्तिको सर्वोच्चता खोज्छ। खास व्यक्ति, खास नश्ल वा जातिको सर्वोच्चताले फासीवादसम्म पुर्‍याउँछ भन्ने राजनीतिशास्त्रको सामान्य सैद्धान्तिक निष्कर्ष नै हो।

कसैको श्रीमतीलाई प्रहरीले जाँच गर्दा आपत्ति जनाउने अभ्यासले हामी कहाँ पुग्छौं ? ट्राफिक प्रहरीले हजारौं नागरिकलाई दैनिक जाँच गरिरहेको छ। प्रहरी सुधार्ने अभियानको सुरुवात कम्तीमा बालेनले नगर प्रहरीलाई सुधारेर गर्न सक्नुपर्छ।

जिम्मेवार पदमा रहेका व्यक्तिले देखाउने बचकनाले आम निराशा झन् बढाइरहेको छ।

बालेनको अभिव्यक्तिको अर्थ हो- उनले हरेक असन्तुष्ट नागरिकको हातमा मसाल थमाइदिएका छन्।

राजनीति कुनै खेलबाड होइन। आम निराशामाथिको खेलबाड घातक हुन्छ। भीडले गर्ने अविवेकी र अतिवादी व्यवहारको शिकार कतिवेला को हुन्छ, कसैलाई थाहा हुँदैन। त्यसैले आवेगहरुलाई सञ्जालमा छरपष्ट पार्नुअघि मेयर बालेनसँग सामान्य सवाल– आगो छ भन्दैमा कहाँ कहाँ सल्काउन जाने मेयर सा’ब ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *