जताबाट हेरे पनि स्वरूप उस्तै देखिने मन्दिर! (तस्बिरहरू)

Uncategorized

ठीक दुई बजेको संकेत घडीले दिँदैछ। शान्तिधामबाट दुई बजे नै फर्किने पूर्वयोजनालाई हृदयतः मान्नै परेको छ। शान्तिधामको शान्तमय वातावरणलाई छोडेर कहाँ हिँड्न मानेको थियो र मेरो मन।

समय घर्किंदो छ। सबै इच्छाहरू पूरा पनि त हुँदैनन्। त्यसैले ओरालो झर्दैछन् अतृप्त पाइतालाहरू।

तारकेश्वर नगरपालिकाकै चर्चित भुवनेश्वरी मन्दिर अबको गन्तव्य छ। बिहानको जस्तो उत्साह कहाँ पाउनु अहिले। हेर्दैछु गाडीमा सङ्गिनीहरूका थकित अनुहार। तर पनि झुलुक्क देख्दै छु, सङ्गिनीहरूको आँखामा मन्दिर घुम्ने उत्कट अभीप्सा।

पेटमा चारो परेर पनि सबै झोक्राएका छन्। लखतरान भएर थाकिसकेका सङ्गिनीहरूलाई बोकेर गाडी काभ्रेस्थलीबाट ओरालो झर्दैछ।

सानो बाटोमा अहिले त गाडीहरू गुरूरू आएका छन्। थोरै भए पनि जाम खानुपरेको छ।आलस्य र जाम खाएर वाक्क भएका हामीलाई हेरेर बिमु दिदीले चट्ट परेको पीरो, अमिलो पाउँ फुत्त झोलाबाट झिक्नुभयो।

आँखाले स्वाद पाएर होला, जिब्रोले सरर्रर पानी छोड्दै छ। पाउँ खाएपछि शरीर अलि चङ्गा हुँदैछ। पीरो र अमिलोको रापले होला सडकको जाम पनि डराएको छ। जाम खुलेपछि हाम्रो गाडी त नागार्जुन डाँडाको काखैकाख बेतोडले हुँकिँदै छ।

हरियालीले झपक्कै ढाकेको वातावरणमा भुइँ कुहिरोले लुकामारी खेल्दै छ। अनुपम दृष्यहरूको नजारामा म लठ्ठ परेकी छु।

आँखाहरू गाडीकै झ्यालबाहिर फाल कुदेका छन्। साउनको मस्त जवानीमा प्रकृतिलाई मायालु पाराले सुम्सुम्याउँदैछन् भुइँकुहिरोहरू।

पर देखिएको छ चन्दागिरिको डाँडामा बर्सिएको साउने आकाश। आँखाहरू अझ चञ्चल हुँदैछन्। हुस्सुले नृत्य गर्दैछ शिवपुरी डाँडामा। घामपानीले बेग्लै उत्साह थपेको छ।

हामीभन्दा अगाडि बेतोडले कुदेको छ, हाम्रै साथीहरू बोकेको अर्को गाडी।

हेर्दाहेर्दै गाडीको पाङ्ग्रा नालातिर खुर्मुरिएको देख्दैछौँ। अब भएन त फसाद।

सानो बाटोमा अगाडिको गाडी रोकिएपछि बाटो त झन् साँघुरो भैहाल्यो। बल्लतल्ल कोल्टे पार्दै हाम्रो गाडी अगाडि पुग्न सफल भएको छ।

कुशल चालक भएकोले धन्न बाटोमुनि हाम्रो गाडी गुल्टिन पाएन। अगाडि पुगेपछि हामी पनि गाडीबाट ओर्लियौँ। दुइटा गाडीका सङ्गिनीहरू सडकभरि सलबलाएका छन्।

हामी चढेको गाडीले खाल्टोमा जोतिएको गाडीलाई तान्दैछ अब। गाडीको एकता मलाई मन पर्यो।

शून्य छ सडक। सुरम्य सडकमा रमाउँदै टिकटक बनाउन कम्मर कसेका छन् सङ्गिनीहरू। म पनि नाच्दै छु खुला सडकमा।

१५ मिनेटको मीठो पदयात्रापछि भुवनेश्वरी मन्दिरको बेसक्याम्पमा पुगेका छौं हामी।

आँखै अगाडि सदृष्य भयो कहालीलाग्दो भर्याङ। मेरा बा! मन्दिर उक्लिने त्यो ठाडो भर्याङ आकाशमा नै त पुग्ने होइनन्। कि यो भर्याङ रावणले बनाउन खोजेको स्वर्ग जाने भर्याङ हो त? मेरो मन तुल्बुलिएको छ।

नब्बे डिग्रीको उकालो देखेर तिरिमिरी झ्याइँ देख्दैछु गोडाहरूलाई थपथपाउँदै पनि छु।

‘हैन भुवनेश्वरीको मन्दिर त आकाशमा नै छ कि कुन्नि ? आफैंलाई प्रश्न सोध्दै छु।

राम ! राम !राम ! मेरो मुखबाट रामको नाम निक्लिँदै छ। कि त स्वस्थानी कथामा वर्णन गरिएको त्रिपुर दैत्यहरूको दरबारतिरै त जान लागेका होइनौं? शङ्का उठ्दो छ। हेर्दैछु, त्यो ठाडो भर्याङमा सङ्गिनीहरूको ताँती, फोटो खिच्न लायक देखिएको छ दृष्य। अब म पनि ठाडो भर्याङमा उक्लिँदै छु। गोडाहरू लगलग कामेका छन्।

मन्दिर पुगेर फर्किएका तीर्थालुहरू भन्दैछन् ‍ – ‘दिदी एकैचोटि मास्तिर नहेर्नू न, एउटा एउटा खुड्किलोमा टेक्दै जानू सजिलै पुगिन्छ।’

स्याँ स्याँ गर्दै सोध्छु– ‘भाइ अब कति जति खुड्किला होलान्?’

भाइ हाँस्दै भन्दैछन्– ‘ए दिदी यो त एकछेउ पनि होइन। हजारौँ खुड्किला अझ छन् नआत्तिनू दिदी! सुरूआतका जस्ता गगनभेदी भर्याङ अब छैनन्, तेर्सो तेर्सो भर्याङ त मन्दिरको मुखैसम्म छ।’

यति सुन्ने बित्तिकै म त थचक्क एउटा खुड्किलोमा बसेकी छु। झट्ट उषा दिदीको याद आयो ऊ अझ तलै छे। सुगरकी रोगी त्यहाँमाथि स्याँ स्याँ गर्ने मान्छे, बेलाबेलामा सास फेर्न इनहेलर प्रयोग गर्नुपर्छ। हतारिँदै दिदीलाई फोन गर्दैछु। ऊ त सजिलै आइसकेकी रहिछे। ‘जय हो भुवनेश्वरी माता! ‘ जयकार लगाउँछु। आँखाहरूले खोज्दैछन् अरू नदेखिएका दिदीहरूलाई।

माथिबाट तल हेर्दैछु, दृष्टिगोचर भए दिदीहरूका छाया। अनि लागौँ सर्मिला दिदी र म भुवनेश्वरीको काखतिर। करिब आधा घण्टाको अविराम हिँडाइपछि देख्दै छु झल्झलाकार भुवनेश्वरीलाई। आमाको काखमा पुगेपछि त अघिको पीडा जम्मै छुमन्तर भयो।

मन्दिरको ठीक अगाडि रहेको चिसो पानीको कुन्डमा गोडाहरू चोपलिँदैछन्।

उकालो चढ्दा भत्भती पोलेका गोडाहरू चिसो पानीमा डुबाउँदा गोडाको थकाइ त कति चाँडै गायब भएछ पत्तै भएन।

साँच्चै मन्दिर नौलो लाग्दैछ। तीन तीन वटा गजुर मिलाएर राखिएको बेग्लाबेग्लै सुनौलो छानोको संरचना छ। मन्दिर अग्लो स्थानमा छ। तलबाट मन्दिरलाई हेर्दा मन्दिर आकाशमा नै छ जस्तो अनुभूत हुँदैछ। मन्दिरभित्र पस्ने खुड्किलाहरू पार गरेपछि अब मन्दिरको गर्भगृहमा पुगेकी छु। सोचेकोभन्दा फराकिलो गर्भगृह देखेर आँखाहरू चकित भएका छन्। बीच्चमा भुवनेश्वरी देवी शान्त भएर बसेकी छन्। गर्भगृहको वरिपरि मोटो कार्पेट ओछ्याइएको छ। बल्ल बुझ्दैछु आउने बित्तिकै गोडा धुन राखिदिएको पानीको राज। आँखाहरू चारैतिर दगुरेर चतुर भएका छन्।

‘आँखाले भ्याए जति जम्मै कुरा हेर है अनिता।’ भन्दैछ मन।

भित्तामा अपरिचित सन्तको तस्बिरले केही भन्न खोजेझैं लाग्दैछ।

केहीबेर तस्बिरमा भएका सन्तको आँखाहरूमा मेरा आँखाहरू गएर टपक्क टाँसिए। सन्तले मेरो कानमा साउती मारेको आभास हुँदैछ, ‘ओइ अनिता के मनलाई चञ्चल बनाएकी, जा खुरूक्क साधना गर। आफ्ना इष्टदेवलाई सम्झिएर केहीबेर नाम जप। ईश्वरको स्मरण गर। सुमिरणमा मनलाई लगा। दिनभरि हिँडेर शरीर थालेको छ, केहीबेर श्वासमा हराइस् भने पुनः ऊर्जाशील हुन्छेस्।’

झल्यास्स भएकी छु। मन्दिरभित्रको त्यो अव्यक्त आवाजले। अनि हतारिँदै एउटा कुनामा गएर पद्मासन लगाएर ध्यानस्त हुने कोसिस गर्दैछु। लयबद्ध श्वासमा एकाकार भएर होला मलाई आँखा खोल्न पटक्कै मन छैन। शरीरभरि तरङ्ग छाउँदै छ। मेरा आँखामा ताली लागेकै छन्। फूल, अक्षता, अबिर, धुप, बत्ती भित्र बाल्न नमिलेपछि कैयौं श्रद्धालुहरू निरास भएर कल्याङग मल्याङ गर्दैछन्।

गर्भगृहभित्र बसिरहनु भएको पुजारीले भन्दै हुनुहुन्छ – ‘बाहिर लगेर बाल्नू होला’ त्यति सुनेपछि ढुक्क हुनुभएको छ साथीहरू।

आँखा अझ बन्द नै छन्।

आवाजहरू कानमा आएर ठोक्किँदै छन्।

केहीबेरपछि दुबै हात एकआपसमा रगडेर तातो पार्दै बन्द आँखालाई हल्कासँग स्पर्श गर्दैछु। बल्लतल्ल आँखाहरू उघ्रिएका छन्।

गर्भगृहको भित्तामा लेखिएको देख्दैछु – ‘कृपया मन्दिरभित्र मौन बसिदिनू होला।’

भुवनेश्वरी देवी बुद्ध भएर चुपचाप ध्यानस्त भएको देखेर आल्लादित हुँदैछु। अहो! कति उच्च चेतना हो परियोजनाकारको। भवानीको मन्दिरमा शान्तिको धून गुन्जिएको छ। हिन्दु हैन राम बन्ने चेतना ममा जाग्दो छ। देवीभित्रको देवत्व देख्दैछु। बौद्ध हैन बुद्ध बन्ने सङ्कल्प गर्दैछु।

विचारै विचारको मीठो तरङ्गमा तरङ्गिएकी छु – ‘अहो ! यसैगरी सबै जात, धर्मको मूल मर्मलाई एकै ठाउँमा उभ्याउन सके कस्तो हुन्थ्यो संसार।’

निकैबेर गर्भगृहको परमआनन्दको लाभ उठाएपछि फोटो खिच्न हतारिएका छन् हातहरू।

मन्दिर वरिपरि हेरेर मन्दिरको अवलोकन पनि गर्दैछु।

पूरा भैनसकेको मन्दिर परिसर देख्दैछु। मन्दिर अपुरो अपुरो लाग्दैछ। नजिकै उभिएका सुरक्षाकर्मीलाई सोध्दैछु मन्दिरको बारेमा। बराकठा उनलाई पनि सम्पूर्ण जानकारी छैन जस्तो छ।
त्यही पनि मेरो प्रश्नको उत्तर अन्कनाउँदै दिँदैछन्– २०५५\ २०५६ सालमा नै बनेको हो यो मन्दिर, ७२ सालको भूकम्पमा भत्कियो, निर्माण सम्पन्न हुन सकेन, तल आश्रम छ त्यहीँबाट अरू कुराको जानकारी लिनुहोला।

धन्यवाद भन्दै म घुम्दैछु वरिपरि। जताबाट हेरे पनि मन्दिरको स्वरूप उस्तै देखिएको छ। सिमसिम पानी पर्दैछ। आकाश पनि उज्यालै छ। उत्पुलक पार्ने घटाहरू देखेर फोटो खिच्न थाक्दैनन् मेरा हातहरू। घुमीघुमी फोटो खिच्दैछु।

मायालु सङ्गिनीहरूले हातभरि बिस्कुट, दालमोठ, काजु, ओखर, किसमिस राखिदिनु भएको छ । बिमु दिदी पनि कस्सिएर आउनु भयो।

दिदीले पनि बहिनीहरूका हात हातमा पापा राखिदिनु भएको छ।

निता दिदीको हातमा छुट्टै प्याकेट देखेर मेरा आँखाहरू लोभिएका छन्। हेर्दाहेर्दै दिदीले प्याकेट खोल्न खोजी। अचानक खितित्त हाँस्न पो थाली निता दिदी त।

बिमु दिदीले झुक्किएर घुम्दा प्रयोग गर्ने साबुन पो बोक्नु भएछ खानेकुरा सम्झेर।

हामी हाँसेको कोकोहोलोले हतार हतार चस्मा भिर्दै हेर्नु भयो साबुनको प्याकेट। हाम्रो हाँसो सुनेर बनपाखाहरू पनि हाँस्न थाले।

अब पुनः सोही बाटो ओरालो झर्दैछौँ। परपर देखिँदैछन् हरियालीले सजिएका सुन्दर डाँडाकाँडाहरू। निलो आकाश, सेतो बादल, हरियो जङ्गल र उज्यालो मनहरू कति सुहाएको।
छातीभरि हरियाली बोकेर धर्ती नाचेकी छन्। धर्तीको सौन्दर्य देखेर आकाश लोभिएको छ। बादलको स्पर्शमा धर्ती लाटिएकी छन्। हामी उत्पातै खुसी भएको देखेर होला रूखबिरूवाले सुसेली काढ्दै छन्।

हरिया पातहरूले करतलध्वनि ठोकेका छन्। म मद्होस भएकी छु , प्रकृतिको जादूमा।

धर्तीको लावण्यमा चराहरू चिर्बिराएका छन्। यस्तो मोहनी प्रकृतिलाई हेर्दै मख्ख परेकी म अचानक अँधेरिँदै गएकी छु।

सोच्न विवश भएकी छु – ‘के अबको पाँच वर्षभित्र मैले देखेका यी डाँडाहरू यस्तै रहलान् ? मनमा चिसो पसेको छ।

भित्ताहरू ताछेर प्लटिङ गरेको पनि देख्दैछु परपर। मन अमिलो भएको छ। गाडी ओरालो झर्दै छ। गाडीसँग मान्छेलाई दाँज्दै छु। किन मान्छे सभ्यता र विकासको उचाइमा पुगेर पनि कुरूप हुन खोज्छन्? किन मान्छे लोभले प्रकृतिलाई कोपर्छन्?

Leave a Reply

Your email address will not be published. Required fields are marked *